महेश आचार्य
नयाँदिल्ली, कार्तिक ४ - चार दिने औपचारिक भारत भ्रमणका लागि बिहीबार नयाँदिल्ली आइपुगेका प्रधानमन्त्री बाबुराम भट्टराईले शुक्रबार विहान विदेश सचिव एसएम कृष्णासंग भेटवार्ता गरेका छन् ।
बिहान १० बजे प्रधानमन्त्री बसेको लिला होटलमा विदेश मन्त्री कृष्णा भेटवार्ताका लागि आएका थिए ।
भेटमा नेपालको शान्ति प्रक्रियामा भारतले गर्न सक्ने सहयोगका विषयमा छलफल भएको प्रधानमन्त्री भट्टराईको ब्यक्तिगत वेवसाडट बाबुरामभट्टराई डट कमले जनाएको छ । साथै कृष्णाले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा भारतले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको बताइएको छ ।
त्यसअघि भट्टराईले राजघाटमा महात्म गान्धीको समाधीमा पुष्पगुच्छा चढाएका थिएभने विदेश सचिवले उनी बसेको होटलमै भेटेका थिए ।
शुक्रबार नै भारतीय समकक्षी मनमोहन सिंहसँग हैदराबाद हाउसमा भेट्नुका साथै सिंहद्वारा उनको सम्मानमा आयोजित रात्रिभोजमा उनी सरिक हुनेछन् । लगानी प्रवर्द्धन तथा संरक्षणसम्बन्धी सहमति बिपा, दोहोरो कर हटाउने प्रावधानसहितको सहमति डीटीएएका साथै राष्ट्रपतिको गत वर्षको भ्रमणका क्रममा घोषणा गरिएको २५ करोड डलरको सहुलियत दरको ऋणसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने दिल्ली आइपुगेका नेपाली अधिकारीहरूले जानकारी दिएका छन् ।
राष्ट्रपति प्रतिभादेवी सिंह पाटिल, उपराष्ट्रपति हमिद अन्सारी, सत्तारूढ युनाइटेड प्रोग्रेसिभ एलायन्सकी अध्यक्ष सोनिया गान्धी, सरकारका प्रभावशाली सदस्यहरू अर्थमन्त्री प्रणव मुखर्जी र विदेशमन्त्री एसएम कृष्णा, लोकसभामा विपक्षी दलकी नेतृ सुष्मा स्वाराजलगायतसँग प्रधामनन्त्रीको भेटवार्ता हुनेछ ।
अपराह्न इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भट्टराईलाई भारत सरकारका प्रमुख शिष्टाचार महापाल रुचिरा काम्बोज र नेपालका लागि भारतीय राजदूत जयन्त प्रसाद तथा नेपाल हेर्ने डेस्कका सहसचिव अखिलेश मिश्रले स्वागत गरेका थिए ।
लगत्तै होटल लीला प्यालेस पुगेपछि भारतमा आफूसँग अध्ययन गरेका पुराना साथीहरूसँग भेट गरेका भट्टराईले आफ्नो भारत बसाइँको पहिलो राजनीतिक भेटघाट भारतीय कम्युनिस्ट पार्टीका महासचिव एबी बर्द्धनसँग गरे ।
त्यसपछि नागरिक समाजकोतर्फबाट साउथ एसियन फोरम फर पिपल्स इनिसिएटिभको कार्यक्रममा सहभागी भएका प्रधानमन्त्रीले माक्र्सवादीहरू परिवर्तित परिस्थितिअनुसार व्यावहारिक बन्न नसकेको स्वीकार मात्रै गरेनन् दक्षिण एसियामा सहभागितात्मक लोकतन्त्रको नयाँ मोडल विकास गर्नुपर्नेमा जोड दिए । 'हामी सबै व्यावहारिक बनौं र सहभागितात्मक लोकतन्त्रका लागि संघर्ष गरौं, दक्षिण एसिया आफैंले लोकतन्त्रको नयाँ मोडल विकास गर्न सक्छ,' उनले भने ।
दक्षिण एसियाका जनतालाई आपसमा जोड्न उनले पिपल्स फेडेरेसन अफ साउथ एसियाको आवश्यकतामा जोड दिए । त्यस्तो प्रस्ताव विगतमा राख्दा नेपालमा आफूहरूलाई भारतपरस्त भएको र भारतमा भारतविरोधीका रूपमा चित्रण गरिएको उनले बताए । मन्तव्यको अन्त्य नेपाल र भारतका जनता एक हुनुपर्ने धारणाबाट गरेका भट्टराईले भने, 'दुवै देशका समस्या समान छन्, दुवै मुलुकका जनता एक हुनुपर्छ । हामी एक भए विश्वको कुनै पनि शक्तिले हामीलाई परास्त गर्न सक्ने छैन ।'
कार्यक्रमलाई सम्बोधन गर्दै जनता दल युनाइटेडका अध्यक्ष एवं विपक्षी गठबन्धन नेसनल डेमोक्रेटिक एलायन्सका संयोजक शरद यादवले नेपालका सबै शक्तिलाई एक भएर शान्ति र संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पुर्याउन आग्रह गरे ।
प्रख्यात भारतीय नागरिक अगुवा स्वामी अग्निवेशले जनताको वास्तविक हितका लागि दक्षिण एसियामा क्रान्तिको लहर सिर्जना गर्ने तथा पुँजीवाद अन्त्य गर्ने सपना आफूले साँचेको उल्लेख गर्दै जनताको वास्तविक मुक्तितर्फ अघि बढ्न भट्टराईलाई सुझाव दिए ।
कार्यक्रमपछि होटल लीला र्फकेका भट्टराईले नेपाल उद्योग वाणिज्य महासंघको कार्यक्रममा भारतीय पत्रकारहरूसँग अन्तक्रिर्या गरे । त्यसपछि उनी नेपाल डेमोक्रेसी सोलिडारिटी कमिटीले होटल ताजमा गरेको स्वागत कार्यक्रममा सरिक भए ।
उनले विद्यावारिधि उपाधि लिएको जवाहरलाल नेहरू विश्वविद्यालयद्वारा शनिबार आयोजित कार्यक्रममा उनी सहभागी हुनेछन् । त्यसैदिन सांझ भट्टराईको सहभागिता जनता दल युनाइटेडका अध्यक्ष शरद यादवले आयोजना गर्ने कार्यक्रममा हुनेछ । आइतबार नेपाल र्फकनुअघि भने उनी उत्तराखण्डको राजधानी देहरादून पुगी विशेष आर्थिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ । source : ekantipur.com