महेश आचार्य
नयां दिल्ली, कार्तिक ३ - प्रधानमन्त्री बाबुराम भट्टराई चार दिने औपचारिक भ्रमणका लागि आज-बिहीबार) नयां दिल्ली आउँदैछन् । ३७ सदस्यीय टोलीको नेत्तृत्व गर्दै अपरान्ह पौने २ बजे उनी दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्टि्य विमानस्थल आइपुग्नेछन् ।

त्यसअघि बिहान भट्टराई राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगी माल्यार्पण गर्ने कार्यक्रम राखिएको छ । भोलि नै उनी भारतीय व्यवसायीका संगठनहरु कन्फेडेरेशन अफ इण्डियन इन्डस्ट्री, फेडेरेशन अफ इण्डियन च्याम्बर अफ कमर्श एण्ड इन्डस्ट्री र एशोसिएटेड च्याम्बर्स अफ कमर्स एण्ड इन्ड्स्ट्रीले संयुक्त आयोजना गरेको छलफलमा सहभागी हुनेछन् । पर्सि शनिवार पनि थप भेटघाटमा भट्टराई व्यस्त हुनेछन् । गृहमन्त्री पी चिदम्बरम, रक्षामन्त्री एके एन्टोनी तथा भारतीय कम्युनिष्ट पार्टीका वरिष्ठ नेताहरुसंग उनको भेट हुनेछ । आफूले विद्यावारिधि उपाधि लिएको जवाहरलाल नेहरु विश्वविद्यालयले आयोजना गरेको कार्यक्रममा भट्टराई सरिक हुनेछन् । जनता दल युनाईटेडका अध्यक्ष शरद यादवले आफ्नो निवासमा भट्टराईको सम्मानमा आयोजना गरेको कार्यक्रममा उनी सहभागी हुनेछन् । उक्त कार्यक्रममा भारतका विभिन्न दलका नेताहरु सहभागी हुने यादवका सहयोगीहरुले बताएका छन् । नेपाली दूतावासले सोही दिन प्रधानमन्त्रीको सम्मानमा रिसेप्सनको आयोजना गरेको छ । शनिवार बिहान पनि भारतीय व्यवसायीका संगठनहरु कन्फेडेरेशन अफ इण्डियन इन्डस्ट्री र फेडेरेशन अफ इण्डियन च्याम्बर अफ कमर्श एण्ड इन्डस्ट्रीका प्रतिनिधिहरुले प्रधानमन्त्रीसंग भेट गर्नेछन् । भ्रमणको अन्तिम दिन आइतवार प्रधानमन्त्री बिहानै दिल्लीको पालमस्थित एयर फोर्स स्टेशन अवलोकनका लागि पुग्नेछन् । त्यसपछि विशेष विमानमार्फत उत्तराखण्ड राज्यको राजधानी देहरादून पुग्नेछन् । देहरादूनबाट हरिद्धार पुगी उनले त्यहांस्थित स्टेट इन्ड्स्ट्रीयल डिभलोप्मेन्ट कर्पारेशन सिडकुल अन्तर्गतको विशेष आर्थिक क्षेत्रको अवलोकन गर्नेछन् । देहारदूनमा उत्तराखण्डकी गभर्नर मार्गरेट आल्भासंग भेटेपछि भट्टराई नयां दिल्ली हुंदै स्वदेश र्फकनेछन् ।