Responsive Ad Slot

latest

पर्दा पछाडिका गायक थापा

Thursday, October 20

/ by Admin BHOLA THAPA
–सुमन वैरागी


अघिल्लो पुस्ताका चल्तीका गायकहरु वर्तमानमा हराउँदै गएको आभास भएको छ । धेरै गायकहरु थिए जुन अहिले नाम पनि सुन्न गाह्रो भइसकेको छ । प्रेमराजा महत, बमबहादुर कार्की, शिवा आले, विमा दुरा, नारायण रायमाझी, दुर्गा रायमाझी, बुद्धिकृष्ण लामिछाने जस्ता गायकहरुकै बीचमा रहेका गायक कृष्ण थापा अहिले ओझेलमा परेका छन् । सारङ्गीको तार, काठमाडौं तिनकुने, फूलपाती अक्षता, जुनीजुनीलाई, भालेको डाँकैमा, छाता ओढेर, रेल घुम्तीमा लगायत ५ सयको हाराहारीमा गीतहरु गाइसकेका कृष्ण थापा जीवनभर सांगीतिक क्षेत्रमै समर्पित हुन चाहेर पनि पछाडि परेका छन् ।
रुन्छिन् आमा घरैको दुखैमा
भोको पेट कलेटी मुखैमा
दूधको भारा, कैले तिर्न सक्छु आमा खाछु दशधारा
चर्चित गीतका गायक थापाले यस्तै मार्मिक शब्दरचनामा आफ्ना स्वरहरु स्रोताहरुसामु सुनाइसकेका छन् । गाउँघरका यथार्थ घटनाहरु, धनीगरिबबीचको सम्बन्ध होस् वा मायाप्रेमको कथा होस् उनले गीतमार्फत प्रस्तुत गरिरहे । ०४५ सालतिर रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका कृष्ण थापाको ‘भाका मिठो त्यो न्याउली चरीको, झल्को लाग्छ वनपाखा घारीको’ पहिलो गीत हो । रेडियो नेपालमा बर्षेनी रुपमा आयोजना हुने फूलबारी कार्यक्रममा भाग लिँदालिँदै गायककीको माध्यमबाट जनतामाझ चिनिएका गायक कृष्ण थापाको सुमधुर स्वरले स्रोताहरुलाई मन्त्रमुग्ध पारेकै थियो ।
विदेश जाने दिन मेरो आयो
नजाउँ भने घर छोड्न कर लाग्यो
नरोउ माया धर्केर, धुरुधुरु म जाने बेलैमा
आउँला म फर्केर
घरव्यवहारमा परेपछिका दिनहरुमा आफ्नो जीवनसंगीनी छाडेर विदेश जानुपर्दाको पीडालाई गीत मार्फत प्रस्तुत गरेर चर्चा कमाएका थापाका हृदयस्पर्शी शब्द र स्वरले सबैसामु जति चर्चा बटुल्यो । विगतका ती गीतहरुले गाउँले जीवनको प्रत्येक परिवारभित्रको पीडा अहिले आफैंलाई परेको जस्तो महसुस भइरहेको बताउँछन् गायक कृष्ण थापा । विदेश जाने लाहुरेहरुको, खाडी मुलुक गएर धन कमाउने सपना देखेका बेरोजगार युवाहरुको कथाव्यवथालाई गीत मार्फत प्रस्तुत गरिरहेका गायक थापाले पछिल्लो समयमा जुनी जुनीलाई नामक एल्बम बजारमा ल्याएका थिए । त्यसपछिको उनको संगीतिक यात्र एकाएक रोकियो । केही समय हिउँचुली क्यासेट सेन्टर समेत संचालन गरेका गायक थापाले अहिले भने कलाकृति नेपाल संचालन गरिरहेका छन् । कलाकृति नेपालबाट आफ्ना एकल गीतको भीसीडी बजारमा ल्याउने तयारी गरिरहेका थापा अरुको विश्वासमा पर्दा र पैसाको चलखेल गर्न नजान्दा पछाडि परेको पनि बताउँछन् । उनले भने–मैले जमाना अनुसार चल्न सकिनँ त्यसैले पछाडि परेँ । अहिले पैसाकै भरमा गायक बन्नेहरुको भीड छ तर प्रतिभा भएको मान्छे पछाडि नै परिरहेको हुन्छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI