Responsive Ad Slot

latest

सिन्धुली दुर्घटनाका मृतक सबैको सनाखत

Saturday, October 15

/ by Admin BHOLA THAPA
मधुसुधन गुरागाईं, बनेपा, असोज २८- सिन्धुलीबाट बिहीबार काठमाडौंतर्फ आउँदै गरेको बिपी यातायातको ना३ख ९४१२ नम्बरको यात्रु बस पुरानो झाँगाझोली-४ गैरीपुछार भीरबाट खस्दा मृत्यु भएका ४१ जनाकै सनाखत भएको छ। बस खसेर मृत्यु हुनेमा कमलामाई-५ का सन्दीप कार्की (२५), रानीबास-५ का विष्णु कार्की (३०), बासेश्वर-७ का विवेक बराल (२७), रानीचुरी-२ का मदन श्रेष्ठ (३८), रानीचुरी-९ की निर्मला बस्नेत (बराल), तीनकन्या-९ का यशु जर्गामगर, भीमेश्वर-९ का युवराज श्रेष्ठ, रतनचुरा-१ का मानबहादुर थापा, रानीचुरी-७ का वीरबहादुर मुदेल, भद्रकाली-३ का पूर्णबहादुर आले, उदयपुर गाईघाटका शंकर खड्का, कमलामाई-४ का राकेश ढकाल, भीमेश्वर-८का खुशबहादुर श्रेष्ठ, कमलामाई-४ का श्याम बिक, त्रियुगा-४ उदयपुरका सिंहबहादुर खड्का छन्।

यसैगरी, काठमाडौँ-३५ का समरबहादुर जोशी, नमिता जोशी, फूलकुमारी जोशी, रानीचुरी-१ की चण्डिकादेवी जोशी र प्रबल जोशी रहेका छन्। प्रहरीका अनुसार उनीहरु एकै परिवारका हुन्।

भवानी अधिकारी भक्तपुर, हरि थापा सप्तरीको कञ्चनपुर, सोमबहादुर तामाङ पुरानो झाँगाझोली, उत्सव बराल बाशेश्वर-७, देवकी लामिछाने बासेश्वर-८, सुरवीर योञ्जन कमलामाई-९, प्रदीप परियार रामेछाप खिम्ती-६, संगीता घानामगर लाम्पानटार-४, सुशीला विक कमलामाई-४, अञ्जु ढकाल कमलामाई-५, कृतिका श्रेष्ठ धुलिखेल-५, प्रमिला श्रेष्ठ भीमस्थान-५, सरोज घानामगर लाम्पानटार-४, राकेश श्रेष्ठ कमलामाई-४, चन्द्रगोपाल श्रेष्ठ धुलिखेल-५, विकास परियार कमलामाई-३, प्रेम थापा मगर (चालक) भद्रकाली-३, मानबहादुर थापा रतनचुरा-१, सीता गौतम डाँडीगुराँसे-६ र कमलामाई-९ की आइतमाया योन्जनको पनि मृत्यु भएको छ।

सनाखत भएका सबैको शव आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख दिलिपराज झाले जानकारी दिए।

घाइतेमध्ये करुणा तामाङ, कल्पना दर्जी र जानुका श्रेष्ठको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते भएका तीनकन्या, सिन्धुलीका नारायण मगर, सिन्धुली लाम्पान्टारकी रस्मिता श्रेष्ठ, काठमाडांै, हाँडीगाउँका आशा श्रेष्ठ र कमलामाई-९ का बाबुलाल योञ्जन बिएन्डबी अस्पताल ललितपुरमा उपचार भइरहेको छ।

सिन्धुली शोकमग्न
सिन्धुली जिल्लामा हालसम्मकै धेरै मानवीय क्षति भएको बस दुर्घटनामा मृत्यु हुनेको शोकमा सिन्धुलीमाढी सदरमुकामस्थित बजार बन्द भएका छन्। सिन्धुली उद्योग वाणिज्य संघको आह्वानमा शोक मनाउनका लागि सदरमुकामस्थित सम्पूर्ण बजार बन्द गरिएको हो। राजनीतिक दलहरुले पनि शोक वक्तव्य जारी गर्दै मृतकहरुको चीर शान्तिको कामना गरेका छन्।

एकीकृत माओवादीका सचिव सिपी गजुरेलले शुक्रबार बिहान धुलिखेल अस्पताल पुगेर उपचाररत घाइतेको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् ।

दिनप्रतिदिन यात्रा असुरक्षित बन्दै गएपछि स्थानीयवासीले बिपी राजमार्गमा चल्ने सवारीको गति नियन्त्रण हुनुपर्ने माग गरेका छन्।

'लगातार तीन वटा ठूला दुर्घटना देखिसक्यौं, सानातिना त कति हो कति,' रातमाटा, सिन्धुलीका घनिराज न्यौपानेले भने। सडकको ठाउँ ठाउँमा चेक जाँच भएको खण्डमा सवारी साधनले क्षमताभन्दा बढी यात्रु बोक्न डराउने भएकाले दुर्घटना कम हुने उनको भनाइ छ।

यसै वर्ष वैशाखमा रिठ्ठेभीरमा बा२ख ३३७५ नम्बरको बस सडकबाट २ सय मिटर तल खसेर दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको र १२ जना घाइते भएपछि सिन्धुली प्रशासनले यस राजमार्ग भएर गुड्ने सार्वजनिक सवारी साधनलाई गति नियन्त्रण, क्षमताभन्दा बढी यात्रु नराख्ने लगायतका कार्य पालना गर्दै यात्रु सुरक्षित बनाउनु पर्ने नियम बनाएको थियो।

केही महिना यो नियम पालना भए पनि पछिल्लो समयमा उल्लंघन हुँदै आएको छ। दिउँसो सवारी चलाउन समेत साँघुरो बाटोमा घुर्मीदेखि दसैंअघि रात्रि बससमेत चलाएका थिए।

सिन्धुलीमाढीबाट छुटेको सवारी साधनलाई चेकजाँच गर्ने ट्राफिक प्रहरी पोस्ट सिन्धुलीमाढीदेखि नेपालथोकसम्म कहीँ पनि छैन। बिपी राजमार्ग आंशिक सञ्चालनमा आएपछि आफूसँग भएको जनशक्तिले काम गर्न नभ्याएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक गोविन्दकुमार कार्कीले स्वीकारे।

'२१ जना ट्राफिकले दोलालघाटदेखि साँगाभन्ज्याङसम्म, नेपालथोकदेखि धुलिखेल र बनेपादेखि पनौतीसम्म हेर्नु परेको छ,' कार्कीले प्रश्न गरे, 'कहाँमात्र र कसरी भ्याउनु?'
निर्माणाधीन राजमार्ग हस्तान्तरण नै नभएको एकातिर छ भने यातायात व्यवस्था विभागले रुट परमिट नै नदिएको यस राजमार्गमा अघिल्लो वर्ष पुषमा आ-आफ्नो समितिले मात्र बस चलाउन पाउनुपर्ने भन्दै बिपी राजमार्ग यातायात व्यवसायी समिति र हिमाल तराई यातायात समितिबीच विवाद समेत भएको थियो।

दुवै समितिले एक अर्काको यातायात मजदुरलाई कुट्ने र बस समेत कब्जामा लिने काम भएको थियो। तत्कालीन काभ्रेका प्रमुख जिल्ला अधिकारी सुधीरकुमार शाहको मध्यस्थतापछि दुवै समितिले आलोपालो गर्दै बस सञ्चालन गर्दै आएका छन्। साभार नागरिक न्युज डट कम
Don't Miss
© all rights reserved
made with by netKUTI