माओवादी-कांग्रेस छलफल
काठमाडौं, कार्तिक ९ - माओवादी लडाकु समायोजनमा सहमति हुन बाँकी विषयमा बुधबार पनि सत्तारुढ माओवादी र प्रतिपक्षी कांग्रेसबीच छलफल भएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास नयाँबजारमा भएको बैठकमा मिल्न बाँकी समायोजन हुने लडाकुको संख्या र पुनर्स्थापना प्याकेजमा छलफल भएको कांग्रेस नेता मिनेन्द्र रिजालले जानकारी दिए ।
'प्रधानमन्त्री भारत जानुअघि भएको छलफलमा मिल्न बाँकी दुई विषयमा सामान्य छलफल भयो,' बैठकपछि रिजालले ईकान्तिपुरसित भने, 'दुवै पक्षले एक अर्कालाई बुझाउने प्रयासमात्र भयो तर सहमति भएन ।'
बुधबार भएको शीर्ष नेताहरुको छलफलमा समायोजन हुने लडाकुको संख्या र पुनर्स्थापना प्याकेजमा सहमति नभएपछि बैठक बिनानिष्कर्ष टुंगिएको थियो । कांग्रेस एमालेले समायोजन हुने लडाकुको संख्या ५ हजारसम्म भनेका थिए भने माओवादीले ७ हजारमा अडान राखेको थियो ।
यसैगरी पुर्स्थापनामा जाने लडाकुलाई ३ देखि ६ लाखसम्म दिनुपर्ने कांग्रेस एमालेको अडान छ भने माओवादीले ६ देखि ९ लाखसम्म दिनुपर्ने माग राख्दै आएको छ ।
कांग्रेसले कात्तिक १२ गते प्रतिपक्षी एमालेसँग सहमति हुन बाँकी विषयमा छलफल गरेर कात्तिक १३ गते पुनः माओवादीसँग छलफल गर्ने रिजालले जानकारी दिए ।
छलफलमा माओवादी अध्यक्ष दाहाल र प्रधानमन्त्री एवं माओवादी उपाध्यक्ष बाबुराम भट्टराई तथा कांग्रेस सभापति सुशील कोइराला, महामन्त्री कृष्ण सिटौला र केन्द्रीय सदस्य मिनेन्द्र रिजाल सहभागी थिए । साभारः इकान्तिपुर डट कम