गोकुल बानियाँ,
आश्विन २५ पोखरा विजयादशमीको समाप्तीसँगै पोखरा उप–महानगरपालिकामा कार्यरत कर्मचारीहरूको ठूलो समूह विदेश भ्रमणमा निस्किएपछि नगरपालिकाको काम कारवाही पुर्ण रूपमा प्रभावित बनेको छ । दशै बिदापछि आईतबारदेखि कार्यालय खुलेपनि जिम्मेवार अधिकृतहरुनै अनुपस्थित भएपछि काम विशेषले गएका सर्वसाधारण त्यसै फर्कन बाध्य भएका छन् । सम्भवत पोखरा उप–महानगरपालिकाको इतिहासमा एउटै मितिमा काज स्वीकृत गराएर भ्रमणमा जाने कर्मचारीको संख्या यस पटक सवै भन्दा धेरै रहेको छ । यसरी काज अर्थात् कार्यालयको कामको बाहाना बनाएर भ्रमणमा जानका लागि काज स्वीकृत गर्नेहरूमा नगरपालिकाका प्रमुखको समेत जिम्मेवारी सम्हालेका कार्यकारी अधिकृत मेघनाथ काफ्लेसहित अन्य रहेका छन् । काफ्लेले आफुसंगै काङ्ग्रेस निकट स्थानीय निकाय कर्मचारी संघका महासचिव ओमराज पौडेल र नेकपा एमाले निकट स्थानीय निकाय कर्मचारी संघका केन्द्रीय सदस्य नारायाण शर्मालाई टर्कीको ईस्तान बुल स्थित अदालर नगरको भ्रमणमा लगेका छन् । केही महिना अगाडि पोखरामा अदालर नगरसंग भगिनी सम्वन्ध कायम गर्ने सम्वन्धमा दुई नगर बीच प्रारम्भिक हस्ताक्षर भएको थियो । त्यसपछि अदालर नगर जाने पोखराको टोली यो पहिलो हो । उनीहरू दुई साताको भ्रमणमा आईतबार त्यस तर्फ प्रस्थान गरेका हुन् ।