डुम्रे असोज २६,
तनहुँको डुम्रेमा प्रहरीले मनलाग्दी भाडा असुल्ने सवारी साधनलाई कारबाही प्रक्रिया सुरु गरेको छ । कारबाहीकै क्रममा डुम्रेमा प्रहरीले पोखराबाट काठमाण्डौ जाँदै गरेको ना ३ ख ५२१३ नम्बरको बसलाई नियन्त्रणमा लिई यात्रुको भाडा फिर्ता गरि सो बसलाई ट्राफिक नियम अनुसार कारबाही गरि कागज पत्र नियन्त्रणमा लिएको छ ।
सो बसले डुम्रेबाट काठमाण्डौसम्मको भाडा ४ सय रुपैँया लिएको थियो ।मनलाग्दी भाडा असुलेको कारण डुम्रेका प्रहरी निरीक्षक रेशमराज रेग्मीले सवारी साधनले जथाभाबी भाडा लिएको पाईएमा यात्रुलाई नजिकैको प्रहरी, ट्राफिक प्रहरी वा डुम्रे प्रहरीको फोन नम्बर ०६५–५८०१९९ मा सम्पर्क गरि जानकारी गराउन अनुरोध गर्नुभएको छ । त्यस्ता सवारीलाई तत्काल कारबाही गरिने पनि उहाँले बताउनुभयो। त्यस्तै पृथ्बीराजमार्ग बस सञ्चालक समितिका अध्यक्ष बलराम लामिछानेले यसरी मनलाग्दी भाडा असुल्नेलाई कारबाही गरिनुपर्ने धारणा ब्यक्त गर्नुभयो ।
उहाँले पृथ्बीराजमार्ग अन्तरगत टिकट काउन्टरहरुबाट टिकट नकाटीकन मनलाग्दी भाडा असुल्न सघाउन पुर्याउने कर्मचारीलाई आफूले तत्काल जागिरबाट बर्खास्त गरिदिने पनि उहाँले बताउनुभयो । उहाँले यो बिषयमा समितिले सकेसम्म अनुगमन गरिरहेको र यात्रुले जानकारी दिएमा तत्काल कारबाही प्रक्रिया अगाडि बढाईने पनि बताउनुभयो । उहाँले सबैभन्दा पहिले यात्रु आफैँ सचेत हुनुपर्ने पनि बताउनुभयो । समितिका अध्यक्ष लामिछानेले बस सञ्चालक समिति राज्यको मातहतमा रहेकाले राज्यको कानुन बिपरीत यस्तो काम गर्न कसैलाई पनि छुट नभएको धारणा ब्यक्त गर्नुभएको छ ।