समुन्द्र पौडेल
तनहुँ, असोज २८
क्याम्पस र विद्यालयको भौतिक पुर्वाधारका लागि तनहुँको बन्दिपुर–१, पिप्लेबजार स्थित चिजकुमार–विष्णुकुमारी क्याम्पस र पवित्रा उच्च माध्यमिक विद्यालयले श्री मद भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गर्ने भएको छ । मुल आयोजक समितिले शुक्रबार महायज्ञ स्थलमा पत्रकार सम्मेलनको आयोजना गरी महायज्ञको बारेमा जानकारी गराएको हो । क्याम्पस र विद्यालयको भवन निर्माणसंगै शैक्षिक र भौतिक पुर्वाधार निर्माणका लागि महायज्ञको आयोजना गरिएको मुल समारोह समितिका संयोजक मानकाजी श्रेष्ठले बताए ।
बाचन प्रविण दीनबन्धु पोख्रेलको बाचकत्वमा कात्तिक १ देखी ८ गतेसम्म संचालन हुने महायज्ञमा ५ करोड रुपैया संकलन गर्ने लक्ष्य राखेको छ । बिदेशमा बसोबास गर्दै आइरहेका नेपालीसंगै काठमाण्डौ, चितवन लगायतका स्थानमा बस्दै आएका बन्दिपुरे, छिमेकी जिल्ला लमजुङ, गोरखा, कास्कीबाट समेत दान रकम संकलन हुने भएकाले लक्ष्य भन्दा बढि दान संकलन हुने उनले बताए ।
आर्थिक अवस्था कम भएका स्थानीय बासिन्दाका छोराछोरीलाई उच्च शिक्षा अध्ययनका लागि सहज हुने पवित्रा उच्च माध्यमिक विद्यालयका विव्यस अध्यक्ष सुन्दरलाल श्रेष्ठले बताए । तनहुँ क्षेत्र नं. १ को एक मात्र विज्ञान संकाय भएको सामुदायिक विद्यालयमा आगमी दिनमा स्नातकोत्तर तहसम्मको अध्ययापन गराउने तयारी भईरहेको विद्यालयका प्राचार्य रधुनाथ पण्डितले बताए ।