Responsive Ad Slot

latest

हिमाली क्षेत्र सौर्य ऊर्जा भण्डार

Wednesday, October 19

/ by Admin BHOLA THAPA

मणि दाहाल,
काठमाडौं, कात्तिक २- ऊर्जा क्षेत्रमा नेपालको पहिचान अब 'जलस्रोतमा धनी' देशका रूपमा मात्र सीमित हुने छैन। एक जापानी संस्थाको अध्ययनअनुसार नेपाल सौर्य ऊर्जा उत्पादनमा पनि संसारकै उत्कृष्ट क्षेत्र हो। जापानको 'नेसनल इन्स्टिच्युट फर एड्भान्स इन्डस्ट्रियल साइन्स एन्ड टेक्नोलोजी'ले हालै सार्वजनिक गरेको अध्ययनमा सगरमाथासहित नेपालको हिमाली क्षेत्रलाई सौर्य ऊर्जा उत्पादनमा संसारकै उत्कृष्ट भनिएको छ। हिमाली क्षेत्रको पातलो वायुमण्डल र भिरालो भूभागका कारण सूर्यको प्रकाश बढी प्राप्त गर्न सकिने हुँदा सौर्य ऊर्जा बढी उत्पादन हुने अध्ययनको निष्कर्ष छ। चिसो मौसमले पनि सौर्य ऊर्जालाई चाहिने 'फोटोभोल्टाइन सोलर सेल' हिमाली क्षेत्रमा बढी सक्रिय हुने प्रतिवेदनमा औंल्याइएको छ। यसअघि तातो मरुभूमि भएको क्षेत्र सौर्य ऊर्जाको निम्ति उपयुक्त मानिन्थ्यो। अमेरिकाको दक्षिण-पश्चिममा पर्ने एरिजोना मरुभूमि प्राथमिकतामा थियो। भारतमा पनि प्रायः सौर्य ऊर्जा प्लान्ट राजस्थानका मरुभूमिमा छन्। सौर्य ऊर्जा उत्पादन गर्न विश्वभरि क्रिस्टललाइन सिलिकनमा आधारित 'फोटोभोल्टाइक (पिभी)' प्रविधि प्रयोग गरिन्छ। यो प्रविधि मरुभूमिको गर्मीमा भन्दा हिमालको बढी प्रकाश आउने चिसो ठाउँमा प्रभावकारी हुने पछिल्लो अध्ययनले देखाएको छ। जापानी संस्थाले दक्षिणी ध्रुव नजिकैको एउटा क्षेत्र र दक्षिण अमेरिकामा पर्ने एन्डिज पर्वत शृंखलाको केही क्षेत्रलाई पनि सौर्य ऊर्जाका निम्ति उपयुक्त मानेको छ। 'वर्ल्ड साइन्स डट नेट'ले भने भौगोलिक अवस्थितिका कारण 'नेपाल नै उत्कृष्ट' भनेको छ। 'दक्षिणी ध्रुवमा मानव बस्ती छैन, नेपाल भने चीन र भारतजस्ता बढी ऊर्जा खपत हुने देशको बीचमा भएकाले सबभन्दा उत्कृष्ट ठाउँ हो,' प्रतिवदेन सार्वजनिक भएलगत्तै वर्ल्ड साइन्स डट नेटले दिएको प्रतिक्रियामा छ। अध्ययनअनुसार एउटा सौर्य ऊर्जा उपकरणले बेलायत वा जर्मनीमा ६ सयदेखि ८ सय किलोवाट विद्युत उत्पादन गर्न सक्छ, जबकि नेपालका हिमाली क्षेत्रमा त्यही उपकरणले २ हजार किलोवाट उत्पादन हुन्छ। यो अहिलेसम्म प्राथमिकतामा पर्दै आएको एरिजोना क्षेत्रको भन्दा बढी हो। त्यहाँ यही क्षमताको उपकरणले १ हजार ४ सयदेखि १ हजार ६ सय किलोवाट मात्र उत्पादन हुने अध्ययनले देखाएको छ। ऊर्जा, वातावरणजस्ता विषयमा अध्ययन गर्ने अमेरिकी संस्था जिडब्ल्युएस स्ट्राटेजीले यो नतिजालाई 'आश्चर्यजनक' बताएको छ। 'यसअघि हिमाली र अन्टार्टिका क्षेत्रमा सौर्य ऊर्जा उत्पादन हुन्छ भनेर धेरैले सोचेकै थिएनन्,' उक्त संस्थाका कार्यकारी निर्देशक जेरोफ स्टाइल्सले आफ्नो ब्लगमा लेखेका छन्। हिमाली क्षेत्रबाट सौर्य ऊर्जा उत्पादन गर्न सके भविष्यमा भारत र चीनको अत्यधिक ऊर्जा माग पूरा गर्न ठूलो सहयोग पुग्ने उनले बताएका छन्। यसले हरितगृह ग्यास उत्सर्जन कटौती गर्न पनि सघाउ पुर्‍याउने उनले उल्लेख गरे। तीव्र आर्थिक वृद्धि गरिरहेका यी दुई देशको ऊर्जा माग उच्च छ। पछिल्लो एक दशकमा चीनको ऊर्जा उपभोग दोब्बर भएको छ। सन् २०३५ सम्म त्यहाँ थप ७५ प्रतिशत बढी ऊर्जा चाहिने अन्तर्राष्ट्रिय ऊर्जा नियोगको पछिल्लो प्रतिवदेनमा छ। नियोगअनुसार विश्वको कुल ऊर्जा उपभोगको १७ प्रतिशत चीनमै खपत हुन्छ। भारतमा पनि यो वार्षिक ७ प्रतिशत दरले बढिरहेको छ। अनुसन्धानको नेतृत्व गरेका कोतारो कावाजिरीले 'सूर्यको धेरै प्रकाश प्राप्त गर्न सकिने निकै सुख्खा क्षेत्र तथा अर्धसुख्खा क्षेत्र सौर्य ऊर्जाका लागि उत्कृष्ट' भनी प्रतिवेदनमा लेखेका छन्। यो निष्कर्ष कार्यान्वयन गर्न आवश्यक पर्ने आर्थिक विवरण थाहा नहुँदासम्म यसलाई वैज्ञानिक शोधका रूपमा मात्रै लिइने उनले उल्लेख गरेका छन्।
Don't Miss
© all rights reserved
made with by netKUTI