जे पाण्डे नेपालगन्ज, आश्विन १७ - नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले माओवादीलाई शान्ति र संविधानका पक्षमा जनबिश्वास हुने गरी काम थाल्न सुझाव दिएका छन् । उनले माओवादीले शान्ति र संविधानको पक्षमा छौं भन्ने प्रतिवद्धता जनाएपनि त्यो ब्यवहारमा नदेखिएको टिप्पणी गरे । नेपालगन्जमा मंगलबार दशै, तिहार, छठ र इदुल फित्रको अवसरमा आयोजित चियापान समारोहमा बोल्दै कोइरालाले विश्वासको मत जित्ने काम नथाले सम्म माओवादीलाई बिश्वास गर्न नसकिने बताए । माओवादीले कब्जा गरीएका जग्गा जमिन फिर्ता, वाइसियलको अर्धसैनिक बल विघटन, पिपुल्स भोलेन्टिएर र क्रान्तिकारी परिषद विघटन गरेमात्र विश्वासको मत जित्न सक्ने उनको भनाई छ । उनले नेपाली कांग्रेसका लागि शान्ति र संविधान पहिलो प्राथमिकता भएकाले त्यसका लागि हदैसम्मको लचिलो भएको दावी गरे । चियापान कार्यक्रममा बांकेका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, विभिन्न राजनीतिक दलका नेता एवं संचारकर्मीको उपस्थिति थियो । केन्द्रीय सदस्य शेरबहादुर देउवाले राजीनामा दिए पछि उत्पन्न बिवादका सम्बन्धमा भने कोईरालाले कुनै प्रतिकृया दिएनन् । साभारः इकान्तिपुर डटकम