बन्दना पौडेल, पालुङ मकवानपुर, भदौ ३१,
पालुङ बहुमुखी क्याम्पसको उतरोन्नती, संकाय विस्तार तथा अक्षय कोष स्थापनाको लागि आइतबार शुरु हुने सप्ताह महायज्ञको तयारी पूरा भएको छ । पालुङको शंखमूलमा लगाइने महायज्ञको तयारी पूरा भएको हो । यज्ञको स्थानीय सप्तकन्या, मूल पुरोहित तथा पुरोहितहरुले संयूक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महायज्ञका लागि आवश्यक मञ्च व्यवस्थापन तथा अन्य तयारी पूरा भएको मूल आयोजक समितिका अध्यक्ष सानोभाइ कार्कीले जानकारी दिए । दिनबन्धु पालुङमा पहिलो पटक कथा वाचनमा आउनुहुने भएकोले यस महायज्ञमा शैक्षिक आशातित हुने आयोजकले अपेक्षा गरेको छ ।
महायज्ञको विषयमा देशविदेश पुगेका दामनपालुङबासी र दामनपालुङलाई माया गर्नेहरु, आफन्त तथा शुभचिन्तक र साथीहरुलाई विभिन्न माध्यमबाट खबर भएकोले पनि सहयोग जुट्ने कोषाध्यक्ष घनश्याम अमात्यले जानकारी दिए । मकवानपुर बहुमुखी क्याम्पसको विस्तारित कार्यक्रमको रुपमा संचालनमा रहेको पालुङ क्याम्पसलाई स्वायत्त बनाउन २०५७ सालमा महायज्ञ संचालन गरिएको थियो । त्यसको १२ वर्षपछि यस वर्ष फेरि क्याम्पसकै लागि महायज्ञ आयोजना गर्न लागिएको छ ।