आश गुरुङ, लमजुङ, असाजे २ गते । आईतवार साँझ गएको भुकम्पका कारण लमजुङमा दुइ घर र एक धन्सार भत्किएका छन् । लमजुङको बाहुनडाँडा, कुन्छा र तार्कुमा घर तथा धन्सार भत्किएको खबर प्राप्त भएको छ । भुकम्पबाट मानवीय क्षति नभएपनि एक चौपाय मरेको छ । तार्कुको वडा नं. ६ चाँपखर्कका सोमबहादुर थापामगरको धन्सार भत्किँदा एउटा ब्यउनी भैंसी मरेको छ । अन्य गोरु र बाख्रा घाइते अवस्था उद्दार गरिएको छ । उता बाहुनडाँडा गाविस वडा नं. ७ दोभानचौरका नन्दजंग गुरुङको घर पनि भत्किएको छ । घर भत्कदा मानविय क्षति नभएको स्थानिय शिक्षक हरिप्रसाद घिमिरेले वताउनुभयो । यस्तै कुन्छा गाविसको कुन्छामा कल्याण गौलीको घर भत्किएको छ । त्यहाँपनि मानविय क्षति भने भएको छैन् । भुकम्प जानासाथ सदरमुकाम बेसीसहर लगायतका स्थानमा मानिसहरुको भागदौड चलेको थियो । राती अबेरसम्म पनि मानिसहरु घरभित्र छिर्न डराएका थिए । भूकम्पबाट अन्य स्थानमा के कति क्षति भयो भन्ने बारे भने थप विवरण प्राप्त हुन सकेको छैन् ।