कपिल ज्ञवाली बुटवल, भदौ २५÷पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रहरी नायब महानिरीक्षक राजेन्द्र सिंह भण्डारीले तराईका तीन जिल्लालाई केन्द्रित गरी अपराध नियन्त्रणका लागि विशेष प्रहरी सेल गठन गरी कारवाही अगाडि बढाइएको बताउनुभएको छ ।
पश्चिमाञ्चल विकास क्षेत्रका १६ जिल्ला मध्ये तराईका तीन जिल्ला रुपन्देही, नवलपरासी र कपिलवस्तुका आपराधिक गतिविधि बढी हुने भएकाले यी जिल्लालाई लक्षित गरी सुरक्षा रणनीति अपनाइएको उहाँको भनाई छ । “यसका लागि छुट्टै सुरक्षा संयन्त्र गठन भएको छ”–उहाँले भन्नुभयो । तराईका जिल्लामा भूमिगत सशस्त्र समूहको गतिविधि र तस्करी मुख्य अपराधको रुपमा रहेको र यसलाई नियन्त्रणका लागि सम्पूर्ण प्रहरी युनिटलाई निर्देशन दिइसकिएको पनि उहाँले बताउनुभयो ।
आज बुटवलमा सञ्चारकर्मीहरुसँग यस क्षेत्रको सुरक्षा अवस्थाबारे भएको छलफल कार्यक्रममा प्रहरी नायब महानिरीक्षक भण्डारीले तस्करीमा प्रहरी संलग्नताको समेत विगतदेखि आरोप लाग्ने गरेको उल्लेख गर्दै त्यस्तो संलग्नतालाई सहन नसकिने बताउनुभयो । “यदि कोही प्रहरी तस्करीमा संलग्न भए कडा कारवाही हुन्छ”–उहाँले भन्नुभयो । मातहतका प्रहरी युनिटलाई नबिराईकन र नडराईकन काम गर्न निर्देशन दिएको उल्लेख गर्दै भण्डारीले कसैले कानुन उल्लंघन गरे त्यसलाई टुलुटुलु हेरेर बस्न नसकिने बताउनुभयो । तराईको मुख्य समस्याको रुपमा सवारी दुर्घटना पनि रहेको उल्लेख गर्दै उहाँले वर्षेनी साढे ४ सयको दुर्घटनाबाट मृत्यु हुने गरेकाले यसको रोकथाम गर्नु पनि जरुरी रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा लुम्बिनी अञ्चल प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक प्रकाश अर्यालले सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण र तस्करी रोकथामका लागि सञ्चारकर्मीहरुसँगको सहकार्यमा काम गर्न इच्छुक रहेको भन्दै त्यसो गर्न सकिए अपराध र तस्करी नियन्त्रणमा टेवा पुग्ने धारणा राख्नुभयो । उहाँले प्रहरीले विभिन्न समयमा नियन्त्रणमा लिएका नक्कली सवारी साधनलाई प्रक्रिया पु¥याएर प्रहरीले नै सुरक्षाको लागि प्रयोग गर्न गृह मन्त्रालयमा पत्राचार गरेको र मन्त्रालय पनि यसमा सकारात्मक रहेको बताउनुभयो । यस्तो प्रक्रियामा ६ वटा गाडी रहेकाले प्रंक्रिया पूरा भएपछि प्रहरीले प्रयोग गर्ने जानकारी दिनुभयो ।