चर्चित लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपानेको उकल साँझको लागि तयारी तीव्र रुपमा भैरहेको छ । न्यौपानेले २३ गते शुक्रबार काठमाडौं कमलादीको प्रज्ञा भवनमा आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्नुहुनेछ । फेवा म्यूजिक प्रा.लिको संयोजनमा न्यौपानको एकल साँझ हुन लागेको फेवा म्यूजिकका प्रवन्धक दुर्गा रायमाझीले जानकारी दिनुभयो । ३९ बर्ष अघि स्याङ्गजाको श्रीकृष्ण गण्डकी गाविस बलाम बेल्टारीमा जन्मेका पुरुषोत्तम न्यौपानेका दर्जनौ लोक तथा दोहोरी गीत चर्चित छन् । ०४६ सालमा रेडियो नेपालमा बलाम देवी थान बोलको गीतबाट स्वर परीक्षा उर्तिण गरेर व्यवसायिक गायन पेशा थालेका न्यौपानेको ‘फूलको बासना’ पहिलो एल्बम हो । निकै चर्चा कमाएको यो एल्वममा हरिदेवी कोइरालाले पनि स्वर दिनुभएको छ । पुरुषोत्तम न्यौपाने र हरिदेवी कोइरालाको सहयात्राले ओरालो लागेको नेपाली लोक दोहोरीको बजारलाई माथि उठाउन सहयोग गरेको कलाकारहरु बताउँछन् ।
न्यौपानेले गाएका गीतहरु मध्ये फूलको वासना, श्रीखण्ड चन्दन, ऐना हेरेर, निलो पछ्यौरी, झिलझिल सितारा, मायाले मार्यो, बिरानो मुलुक, चिन्ता बढ्यो झन, डाँडैमा पिपल सारेर, मिर्मी मुनी कालि थुनेको, भेटे झगडा, गून्यू चोलीमा, पानीघट्टामा, मुग्लीन झरौं, रुन्छनी मन किन रुँदैन, पूर्वैमा झ्याल राखे, घाम जस्तो चम्किलो जून हुँदैन, देउरालीमा धजा लगायतका गीतहरु सर्वाधिक चलेका छन् । तीजमा पारिवारिक व्यथा र छुट्टै कथा भएका गीत गाउन पनि उहाँले नै थाल्नु भएको हो ।
एकल साँझमा न्यौपानेलाई गायिका शर्मिला गुरुङ्ग र उहाँकै छोरा गायक रविनले पनि सघाउने आयोजकले जनाएको छ । भजन, चुट्कालगायत अन्य भाषा भाषिका गीत पनि उहाँले गाउनुभएको छ । न्यौपानेको यो दोस्रो एकल साँझ हो । यस अघि उहाँले पोखरामा एकल साँझ गरि सक्नुभएको छ । source:onlinekhabar