तनहु खबर,भाद्र २९ नवलपरासीको कावासोतीबाट ९ दिनदेखि वेपत्ता भएका २ बालिका मध्ये एक जनालाई प्रहरीले उद्दार गरेको छ । इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मुकुन्द मरासिनीका अनुसार शिवमन्दिर २ निवासी रेशमलाल अधिकारीकी १३ बर्षीय छोरी अन्जना अधिकारीलाइ उद्दार गरिएको हो । नवलपुर प्रहरीले बारा प्रहरी र एनसेल सिमकार्डको सहायतामा बालिकालाई नेपाल भारत सीमा क्षेत्रमा पर्ने बारा जिल्लाको मट्रिया सीमा क्षेत्रबाट गरिएको जनाएको छ । अधिकारीलाई कावासोतीमा बस्दै आएका बारा जिल्ला घर भएको १७ बर्षीय मेख महम्मतले ललाई फकाई विवाह गर्ने बाहनामा भगाई लगेको खुल्न आएको प्रहरीले जनाएको छ । साथै प्रहरीले बालिकालाई भगाई लैजाने मेख महम्मतलाई पनि नियन्त्रणमा लिएको छ । समता निकेतन विद्यालय कावासोतीमा कक्षा ७ मा अध्ययनरत अन्जना अधिकारीे भदौ १८ गते देखि बेपत्ता भएकी थिईन् । तर सोही दिन वेपत्ता भएका प्रगतिनगर ३ निवासी ९ बर्षीय नातिनी मनिशा कुमालको अवस्था भने अझैं अज्ञात रहेको छ । कुमाल १८ गते आफ्नै घरबाट वेपत्ता भएकी हुन् । मनिषाका हजुरबुवा दुर्गाबहादुर कुमालका अनुसार मनिषालाई गाउंले साइनो गांस्दै घर आएका अपरिचित महिलाले लगेकी हुन् ।