नारायण सापकोटा भाद्र २९ नारायणी सामुदायिक अस्पताल चितवन भरतपुरका डाक्टरले लापरवाही गरेको अस्पताल व्यवस्थापन समितिले स्वीकारेको छ । पाठेघरको अप्रेशन गर्नु पर्नेमा एपेन्डीसाइड भएको भन्दै अस्पतालका डक्टर लोकवहादुर सेढाइले आन्द्रा काट्न तयार भएको अस्पतालले जनाएको छ ।पूर्वी चितवन खैरहनीकी लक्ष्मी सिंखडालाई पाठेघरमा समस्या हुदा हुदै आन्द्रा काट्न डाक्टर सेढाइ तयार भएपछि विरामीका आफन्तले अस्पतालमा विरोध जनाएका थिए । डाक्टर सेढाइले तयार पारेको रिपोर्टप्रति विरामीका आफन्तलाई शंका लागेपछि नजिकैको ओम अस्पतालमा विरामीलाई जचाउदा सेढाइको गल्ती पत्ता लागेको थियो । पाठेघरमा समस्या हुदा हुदै आन्द्रा किन काट्न थालेको भनी आवाज उठाएपछि अस्पतालले गल्ती स्वीकारेको विरामीका भाइ लक्ष्मण रिजालले बताउनु भयो ।डाक्टर सेढाइले विरामी र आफन्त बिच माफी मागेर आगामी दिनमा गल्ती नगर्ने भनी प्रतिवद्धता जनाएका थियो । विरामीका आफन्त र अस्पताल व्यवस्थापन समिति विच विरामीलाई अहिले सम्म लागेको औषधि खर्च र अगाडि लाग्ने सम्पूर्ण खर्च अस्पतालले दिने सहमती भएपछि विवाद टुङिगिएको छ । अहिले तत्काल ४० हजार दिने र उपचार निशुल्क गर्ने सहमती भएको विरामीका आफन्तले जानकारी दिनु भयो । अस्पतालका डक्टरबाट भएको गल्ती वाहिर नल्याउन अनुरोध गरेको समेत स्रोतले जनाएको छ ।