कृष्ण आचार्य गोरखा, भाद्र २२ - माओवादीका शीर्ष नेताहरू शुक्रबार हुने सुरेश वाग्ले स्मृति सभालाई सम्बोधन गर्न गोरखा आउने भएका छन् । जिल्ला पार्टीले बुधबार पत्रकार सम्मेलन गरी सभालाई सम्बोधन गर्न पाँच पदाधिकारी आउने जनाएको हो । पार्टीका अनुसार अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षहरू मोहन वैद्य, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र महासचिव रामबहादुर थापा आउने भएका हुन् । वाग्ले द्वन्द्वकालमा मारिएका सबैभन्दा ठूला माओवादी नेता हुन् । पोलिटब्युरो सदस्य वाग्ले १२ वर्षअघि प्रहरी कारबाहीमा परेका थिए । 'उनको नाममा यति ठूलो सभा आयोजना यो पहिलो हो,' जिल्ला इन्चार्ज कृष्ण धितालले भने, 'सभामा १५ हजारभन्दा बढी मानिस सहभागी हुने छन् ।' धितालका अनुसार पाँचै नेता हेलिकप्टर चढेर आउनेछन् । कार्यक्रमलाई व्यवस्थित गर्न पार्टी कार्यालयले आठ उपसमिति गठन गरेको छ । उपसमितिमा प्रचारप्रसार, जनपरिचालन, अतिथि सत्कार तथा मञ्च व्यवस्थापक, आर्थिक सुरक्षा, खानेपानी, सरसफाइ तथा स्वास्थ्य छन् । '१३ लाख खर्च हुने अनुमान गरिएको छ' धितालले भने ।
नेताहरू सभा सकेर शुक्रबार नै काठमाडांै र्फकने छन् । प्रधानमन्त्री भट्टराई र उपप्रधानमन्त्री श्रेष्ठको कार्य व्यस्तताका कारणले हेलिकप्टरमा आई सोही दिन र्फकने तय गरिएको आयोजकले जनायो । स्मृति सभा भीमसेन थापा र विजय खनालको पनि हो । द्वन्द्वका क्रममा उनीहरूले पनि असोज २३ जते ज्यान गुमाएका हुन् ।आँपपिपल घर भएका वाग्लेको विशेष सम्मानमा उक्त कार्यक्रम गर्न लागेको जिल्ला सेक्रेटरी चूडामणि खड्काले बताए । 'अरू वेला सामान्य गरी कार्यक्रम गर्ने गरिएको थियो,' उनले भने, 'प्रधानमन्त्री र उपप्रधानमन्त्री दुवै गोरखाले पाएको वेला अलि बृहत् गरांै भनेर गरिएको हो ।' वाग्लेको स्मृतिसभा अघिल्लो वर्ष तमुवान राज्य समितिका सेक्रेटरी हरि अधिकारीको उपस्थितिमा सामान्य तरिकाले गरिएको थियो ।
दुई वर्षअघि भने तत्कालीन अर्थमन्त्री भट्टराई नै उपस्थित थिए ।
साभारःइकान्तिपुर बाट