
प्रज्ञा प्रतिष्ठानमा एउटा नाटक खेलेपछि श्रीकृष्ण फिल्मी संसारको भुमरीमा पसे । बढेको भेलले भुमरीमा काठका मुढो नचाएजसरी क्यामेरा र लोकेसनको चक्करले उनलाई नचाउन थाले । फिल्मी कीराले नटोकीकनै हिरो बनेका श्रीकृष्णले सबभन्दा राम्रो नाच्ने हिरोको छवि लिएर फिल्ममा २३ वर्ष बिताए । फिल्मी पर्दामा वकिल बनेर बुबाको इच्छा पूरा गरे, नयाँ फिल्ममा उनको पुरानो सपना पूरा हुँदै छ ।
२०४५ सालमा श्रीकृष्ण श्रेष्ठले 'भुमरी'मा अभिनय थाल्दा राजेश हमाल पनि हिरो भइरहेका थिए । 'भुमरी'को केहीअघि रिलिज भएको राजेशको 'युगदेखि युगसम्म' सुपरहिट भयो, श्रीकृष्णको 'भुमरी'चाहिँ त्यती चलेन । तर, एउटै डुबाइबाट उनले पौडिन सिके । यसैले त गत वर्षको सबभन्दा हिट नेपाली फिल्म उनले निर्माण र अभिनय गरेको थियो, 'कहाँ भेटिएला ।' 'मलेसियाको टि्वन टावरको मल्टिपेल्क्समा यो फिल्मको पोस्टर देख्दा मलाई साहै्र खुसी लाग्यो,' उनले सुनाए । ९१ लाख जति खर्च गरिएको यो फिल्मले श्रीकृष्णलाई आर्थिक फाइदा पनि दिलायो । अहिले उनी नयाँ गाडीको खोजीमा छन् । चढिरहेको जिपभन्दा राम्रो ।
साउनको अन्तिम साता नेपाल प्रज्ञा प्रतिष्ठानमा एउटा जिप आइपुग्यो । श्रीकृष्णले त्यसलाई चारैतिरबाट हेरे, टेस्ट ड्राइभ गरे । गाडीको प्रशंसा गरे र भने, 'तर, म यो लिन्नँ ।' किन ? पैसा धेरै भन्यो ? मैले सोधें । 'होइन, यसको नम्बर मलाई नफाप्ने पर्यो,' उनले भने । गाडीको जुन नम्बर थियो, त्यसको योगफल श्रीकृष्णलाई नफाप्ने आयो, गाडी बिदा । उनी भगवान्मा विश्वास गर्छन् । यसैले संयोगलाई पनि मान्छन् । उनलाई आपनै नामका श्रीकृष्णभन्दा भगवान् शिव बढी मन पर्छन् । कारण ? 'श्रीकृष्ण त म आफैं छु नि !' सोमबार र बिहीबार माछा मासु बन्द, 'सोमबार शिवको, बिहीबार साईबाबाको व्रत ।'
श्रीकृष्ण फिल्ममा आउँदा नेपाली समाज परिवर्तनको छेउमा थियो । २३ वर्षपछि आज पनि समाज खोलाको पानीजसरी बग्नलाई नयाँ ओरालोको खोजीमा छ । त्यसबीच श्रीकृष्णले कहिले 'शनिबारको दिन बिहानी पख' सुन्दरीलाई देखे त कहिले 'काठमाडौंमा नौ तले धरहरा'लाई हेर्दै सहिदगेटमा नाचे । सयभन्दा बढी फिल्म खेलिसक्दा श्रीकृष्ण सबभन्दा धेरै फिल्म हिट हुने हिरोमा गनिन्छन् ।
उनीभन्दा एक वर्षजति अघि आएका राजेश हमाल फिल्म आकाशको सबभन्दा ठूलो तारा बनेर रहे । 'राजेश दाइलाई म मान्छु, नेपाली फिल्ममा हिरोको हिरोइज्म ल्याउने मान्छे हो उहाँ,' उनले भने । श्रीकृष्णपछि कहिले रमेश उप्रेती कहिले दिलीप रायमाझी त कहिले निखिल उप्रेती उल्कापिण्ड जसरी यो आकाशमा चम्किँदै र झर्दै गए । तर, श्रीकृष्ण नामको यो तारा न खस्यो न अरूको उज्यालोमा कहिल्यै हरायो ।
निर्देशक शिव रेग्मीसँग सहकार्य सुरु भएपछि त झन् दियोमा तेल थपियो । यो जोडीले 'आफन्त'बाट सुरु गरेर 'आपनो मान्छे', 'सुख दुःख', 'ए मेरो हजुर', 'हामी तीन भाइ' हुँदै 'कहाँ भेटिएला' सम्म हिट फिल्म दिए ।
'हामी तीन भाइ'मा राजेश जेठो, श्रीकृष्ण माइलो र निखिल कान्छो भाइ थिए । भूमिकाको यो भागबन्डा फिल्म उद्योगमा यी तीनै हिरोको स्थानअनुरूप मिलाइएजस्तो लाग्थ्यो ।
उनले कहिल्यै आफू एक नम्बर भएको दाबी गर्दै हिँडेनन् । आपनै किसिमको एउटा लयमा हिँडिरहेका उनी विनम्र हुन्छन्, 'मलाई सुपरस्टार भन्नु पर्दैन, कलाकार भने पुग्छ ।' कहिलेकाहीँ उनलाई लाग्छ, 'म कसैलाई चुरोट, रक्सी-जाँड खुवाउँदिनँ । त्यसकारण पनि म एक नम्बरमा नपुगेको हो कि ? कसका कति फिल्म हिट भएका छन् दर्शकलाई थाहा छ ।'
श्रीकृष्ण हिँडेको बाटोमा धेरै पहाड र गल्छी छैनन् । समतल बाटोको मौन बटुवाजसरी उनी चुपचाप दुई दशक हिँडिरहे । २०५५ तिर भने उनको बाटोमा एउटा ठूलो नदी आइपुग्यो, जसमाथि बनेको पक्की पुल भर्खरै खोलाले बगाएको थियो । न कुनै फेरि न कुनै तुइन । अर्थात्, श्रीकृष्णलाई ठूलो रोग लाग्यो । फोक्सोमा पानी जम्यो, आन्द्रामा समस्या देखियो ।
'त्यो बेला मेरो घरमा हरेक दिन मान्छे आउँथे, मन्दिरबाट फूल ल्याउँथे र प्रार्थना गर्थे,' उनले आपनो म्हेपीको घरका दृश्य सम्झिए, जो उनले फिल्मबाट कमाएको पुँजी थियो । एक दिन एउटी स्कुल पढ्ने सानी बच्ची आइन् । हातमा गुलाबको फूल लिएर आएकी उनले एकछिन श्रीकृष्णको सुक्दै गएको अनुहार हेरिन् र भनिन्, 'अंकल तपाईंलाई ब्लड क्यान्सर भएको रैछ, हुन्छ भने मेरो ब्लड लिनुस् न ।' श्रीकृष्णलाई त्यो दिन लाग्यो, जीवनलाई हेर्ने दृष्टिमा परिवर्तन आउन समय लाग्दैन ।
उपचारका लागि उनलाई भारत र जापान लगियो । 'भारतमा उपचार चलिरहेकै बेला सेप्टेम्बर ९ तारिखको बिहानै मलाई यस्तो लाग्यो,' अतीत सम्भि“mदै उनले भने, 'म अब बाच्दिनँ, आजै मेरो अन्तिम दिन हो ।' उनले त्यस्तै एक दिन ठूल्दाइलाई बोलाएर भने, 'दाइ, यदि म तलमाथि भइहालें भने मेरो लास नेपाल नलैजानुहोला ।' उनको कुरा सुनेर दाजु एकछिन आत्तिए र दाजुभाइकै आँखा रसाए । 'लास नेपाल पुर्याइयो र भने बुबाआमा, दाइभाउजू र दर्शकले देखे भने श्रीकृष्ण अब आउँदैन भन्ने हुनेछ । देखेन भने कतै विदेश गएको छ, एक दिन त आउँछ भन्ने आशा बाँकी रहिरहन्छ,' उनले यस्तो सोचेर नेपाल नलैजान भनेका थिए । तर, एक दिन श्रीकृष्ण आए, आपनै खुट्टामा टेकेर । र, आपनो टाउकाको पछिल्लतिर पालेको जुल्फी हल्लाउँदै फिल्मी पर्दामा फेरि नाचे, फाइट खेले ।
विर्षमा दुईवटा फिल्म बन्ने र त्यो पनि शिव श्रेष्ठ र भुवन केसीको भागमा पर्ने बेला हिरो बनेका श्रीकृष्ण अहिलेका कलाकारलाई हेर्छन् र मनमनै भन्छन्, 'कस्ता भाग्यमानी !' उनको संघर्षचाहिँ फिल्म खेलिसकेपछि सुरु भएको थियो । 'चेतन कार्कीले भुमरीमा लिएपछि एक महिना सुटिङ गर्न पोखरा गइयो,' पल्यासब्याक यसरी सुरु हुन्छ । दाजुले दिएको सात हजार पकेटमा हालेर दस कक्षा पढ्दै गरेका श्रीकृष्ण हिरो बन्न हिँडे । १५ दिन जतिमा पैसा सकियो । छ भाइमध्येका कान्छालाई घरीघरी घरको याद आउन थाल्यो । 'मैले रोएरै धेरै दिन बिताएँ,' उनले सम्झे, 'पोखराबाट फर्केपछि बल्ल मलाई अब यो क्षेत्रमै जम्नुपर्छ भन्ने लाग्यो ।'
त्यसपछि सुरु भयो 'टे्रनिङ' । यसमा डान्स, एक्टिङ, फाइट, एरोबिक्स, फिजिकल फिटनेस, उसु, बक्सिङ र सितेरियो कराँतेको प्रशिक्षण थियो । साथमा शंकरदेवको पढाइ पनि थियो । '२०४६ पछि खेलाडीलाई मण्डले भन्न थालेको सुनियो, मलाई पनि भन्छन् कि भन्ने डरले कराँतेचाहिँ बीचैमा छोडिदिएँ,' उनी भन्दै गए, 'तीन वर्ष मैले कुनै फिल्म नखेली तयारी गरें ।' यसरी बल्ल उनी चल्तीको हिरोमा दरिन आइपुगे ।
२०४२ सालदेखि सुरु भएको स्टेज करिअरले पछि प्रज्ञा प्रतिष्ठानमा जागिर दिलायो । '२२ वर्ष भयो,' प्रज्ञाका सहायक नृत्य निर्देशकले भने । उमेरको हदले अवकाश नपाएसम्म उनी यो जागिर छोड्ने छैनन्, यस्तो उनको विचार छ ।
उनले अभिनय गरेको पछिल्लो फिल्म 'श्रीमान् श्रीमती' तीजका बेला चल्यो ।
'माउसुलीले घ्याम्पोलाई अँगालो हाल्न खोजेर हुँदैन,' फिल्मको कथा र सन्देशलाई उनले विम्बमा भने । 'बोकाले दाइँ हालेर हुने भए, गोरु किन चाहियो,' यो विम्बचाहिँ उनले अहिले चलिरहेको डिजिटल फम्र्याटका सन्दर्भमा भनेका हुन् । 'फिल्म भनेको नेगेटिभ नै हो,' उनको दृढ धारणा छ । र, उनलाई लाग्छ, डिजिटलको यो रहर र लहर धेरै टिक्न सक्दैन । 'फेन्सिडिल खोकीको औषधि हो तर धेरै खायो भने त्यो विष हुन्छ,' उदाहरण दिन अघि सर्दै उनले भने,
'डिजिटलको पनि त्यसरी नै सही प्रयोग गर्नुपर्यो, जथाभावी प्रयोग हुँदा फिल्मको स्तर झन् घटिरहेको छ ।'
काठमाडौंमा मान्छे र गाडी धेरै भएकोमा उनको गुनासो छैन । किनभने, 'देशमा द्वन्द्व बढेका कारण, असुरक्षा भएकाले मान्छेको संख्या बढेको हो ।' संघीय संरचनामा गएर सुविधा र अवसर बाँडियो भने राजधानीमा मान्छेको संख्या कम होला भन्ने उनलाई लाग्छ । 'तर, संघीयताका नाममा जातजाति र धर्मका कुरा जसरी आएका छन्, त्योचाहिँ राम्रो होइन,' राजनीतिमा चासो नलिने तर मुलुकको चासो राख्ने हिरोले सुनाए, 'पहिले धर्मको खासै कुरा सुनिन्थेन, धर्मनिरपेक्ष घोषणा भएपछि यसको कुरा निस्कियो ।' उनको सोच छ, 'यो बेला देश बनाउने बेला हो, पार्टी र जातिका कुरा सोच्ने बेला होइन ।'
उनलाई आपनो सहर काठमाडौं मनपर्छ । तर, काठमाडौंवासीको एउटा कुरा भने उनलाई मन पर्दैन, 'आपनो घरभित्र मात्रै सफा गर्न जान्ने, घरबाहिर सफा गर्न नजान्ने ।' यसमा पनि उनको उदाहरण आइहाल्यो, 'पहिले हामी पशुपति गएर नुहाउँथ्यौं, अहिले घरबाट नुहाएर पशुपति गइन्छ ।'
श्रीकृष्णको घरसँगै एकजना महर्जन बाजे थिए । श्रीकृष्ण सुटिङ सकाएर राति बाह्र-एक बजेतिर घर पुग्दा उनको सुतेर उठ्ने बेला हुन्थ्यो । गाडीको हर्न सुनेपछि उनी प्रायः भयालबाट हेर्थे । एकदिन उनले भने, 'उहिले म उज्यालो नहुँदै खर्पन बोकेर खेतमा आउँथें । भकुन्डे भूतले भेट्ला भनेर डराएर चुरोट सल्काएर हिँड्थे । पर एउटा मान्छे देखियो भने ओहो साथी भेटियो भनेजस्तो हुन्थ्यो । अहिलेको जमानामा बाबु भकुन्डे भूत र किचकन्नी भेट्यो भने राम्रो मान्छे देख्यो भने तर्सेर भाग्नुपर्छ ।' यो कथाको एक लाइनको सार थियो, जमाना खराब भएको छ । यो प्रसंग सुनाएर उनले भने, '२० वर्षमा समाज कति परिवर्तन भएको छ, तपाईं यही एउटा उदाहरणबाट बुभनुस् ।'
हिरोको नजरमा देशको समस्या के होला ? मैले उनलाई सोधें, जवाफ आयो, 'देशको समस्या त जेरी समस्या पो छ त हो साथी, फेंद कहाँ हो टुप्पो कहाँ हो पत्तै नपाउने ।'
कसैले उमेर सोधे उनी भनिदिन्छन्, '२३ वर्ष ।' तपाईले बुभनुपर्छ यो कलाकार जीवनको उमेर हो । चालीस कटेपछि अचेल श्रीकृष्ण मुलुकको अलि बढी चिन्ता गर्न थालेका छन् । 'जसलाई सोधे पनि टेन्सन छ भन्छन्, देश खत्तम भयो भन्ने मात्रै सुनिन्छ,' उनले कारण बताए । यसैले अहिलेसम्म राजनीतिक फिल्म नखेलेका हिरोलाई देशको स्थितिमाथि फिल्म बनाउने मन छ । 'जतासुकै लथालिंग, भताभुंग, बेथिति र अनुशासनहीनता देखेर' उनले नेता र जनता दुवैलाई सत्य देखाउने राजनीतिक फिल्म बनाउने योजना बनाएका छन् । कहिले बन्छ यसै भन्न सकिन्न । चाहे बिहेको कुरा होस् या फिल्मको, श्रीकृष्ण भविष्यको कुरा पयाट्ट भन्दैनन् ।
yangesh@gmail.com
साभार इकान्तिपुर डट कम बाट