तनहु खबर भाद्र २२ तनहुँको ३ गाविसको आठ स्थानमा एकीकृत शत्रुजीव व्यवस्थापन कार्यक्रम सञ्चालन गरिएको छ । क्यामिनमा तीन, आँबुखैरेनीमा तीन र छाङ गाविसमा दुई किसानका समू्हलाई आईपिएम पाठशालामार्फत रोगकिरा तथा तीनको व्यवस्थापन तालिम प्रदान गरिएको जिल्ला कृषि विकास कार्यालय तनहूँका प्रमुख डण्डपाणि खनालले बताए । क्यामिनका कृषक बाबुराम लम्सालका अनुसार एकीकृत शत्रुजीव व्यवस्थापन पाठशाला सञ्चालनपछि किसानहरु स्वयम्ले आफ्नो खेतीबालीमा लाग्ने रोगकिराको व्यवस्थापन गर्न थालेका छन् । पाठशालामा किसानका प्रत्येक समूहमा फरक फरक प्रजातिका तरकारी तथा खाद्यान्न बालीमा लाग्ने रोगकिरा नियन्त्रणका लागि कार्यक्रम सञ्चालन गरिएको छ । १४ हप्तासम्म सञ्चालन हुने उक्त कार्यक्रममा बालीमा लाग्ने रोगकिराको पहिचान गरी तिनको उपचारका लागि स्थानीयस्तरमै उपलब्ध स्रोत तथा साधनको प्रयोग गरी विषादी निर्माणको तालिम दिइएको खनालले बताए । फरकफरक समूहमा रहेका किसानले निर्धारित समयसम्म लिएको तालिमबाट प्राप्त सीप र अनुभव क्रमश अन्य कृषक र समूहमा हस्तान्तरण गर्दै व्यवहारमा समेत ल्याउने गरेका छन् । आईपीएमका माध्यमबाट किसानहरुको विषादी माथिको परनिर्भता कम हुने खनालको भनाई छ । केहि वर्षअघिदेखि जिल्लाका विभिन्न भागमा यस्ता कार्यक्रम सञ्चालन गरिँदै आएको र किसानहरुले तालिमका क्रममा सिकेका शीपको प्रयोगबाट बालीको उपचार गरिरहेको उनले बताए । तालिमबाट प्राप्त सीपको प्रयोग गर्दै आफूले ५ रोपनी जग्गामा गोलभेँडा खेती गरेको कृषक लम्साल बताउँनुहुन्छ ।
नारायण सापकोटा