Responsive Ad Slot

latest

एम्बुलेन्स थुप्रै, सुविधा शून्य

Friday, September 9

/ by Admin BHOLA THAPA
ऋचा अर्याल, काठमाडौ, भदौ २३- सयौंका संख्यामा ओहोरदोहोर गर्ने उपत्यकाका एम्बुलेन्सहरुले आवश्यक मापदण्ड कत्तिको पुरा गरेका छन्? यो सेवालाई अनुगमन गर्ने निकायकै अनुभवमा भने पटक्कै छैन। 'केही समयअघि यहाँका एम्बुलेन्सहरुको सेवा गुणस्तर हेरेर वर्गीकरण गरेका थियौँ,' जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका काठमाडौंका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद ढकाल भन्छन्, 'आवश्यक सबै मापदण्ड पुरा गरेको जम्मा एउटा मात्र एम्बुलेन्स देखियो।'


एम्बुलेन्स समिति जिल्ला जनस्वास्थ्य कार्यालय अन्तर्गतकै निकाय हो। समितिले तोकेको 'क' वर्गमा पर्नका निम्ति इसीजी, कार्डियो मोनिटर, डेफिब्रिलेटर, भेन्टिलेटर, नेबुलाइजर, हेड इम्मोविलिटी, क्याथेटेराइजेसन सेट, लेन्थ/वेट बेस्ड चेष्ट फर पेडियाटि्रक जस्ता उपकरण हुनु आवश्यक पर्छ। त्यसैगरि एम्बुलेन्समा एकजना डाक्टरको उपस्थिती पनि हुनुपर्छ। जबकि उपत्यकामा गुड्ने सबैजसो एम्बुलेन्सले विरामीलाई केवल प्राथमिक उपचार र परिवहनको मात्र सुविधा उपलब्ध गराउँछ।

'यहाँ परिचालन गरिएका सम्पूर्ण एम्बुलेन्सलाई वर्गीकरणका निम्ति निम्त्याउँदा केवल १८ वटाले मात्र दर्ता गराउन आए,' जिल्ला जनस्वास्थ्य कार्यालय भन्छ, 'त्यसमध्ये 'क' वर्गको मापदण्ड पुरा गर्ने केवल नर्भिक अस्पतालको एउटा एम्बुलेन्स मात्र देखिएको थियो।'
कार्यालयका अनुसार उपत्यकामा उपलब्ध अधिकांश एम्बुलेन्सले केवल 'ग' वर्गको सेवा मात्र दिँदै आएको छ।

सक्सन मेसिन, फ्याक्चर स्प्लिन्ट, सर्भिकल कोलार, एयरवे, पेसेन्ट रिस्ट्रेन स्ट्राप तथा अनुभवी स्वास्थ्यकर्मी तैनाथ एम्बुलेन्सलाई कार्यालयले 'ख' वर्गमा राखे पनि त्यस्तो सेवा दिने एम्बुलेन्स देखिएको छैन। सर्वाधिक पाइने 'ग' वर्गको एम्बुलेन्समा भने प्राथमिक उपचारको सुविधा र औषधि, अक्सिजन सिलिण्डर, फ्लो मिटर, मास्क, आई भी इन्जेक्सनका लागि आवश्यक सामग्री, स्टेरोस्कोप, रक्तचाप नाप्ने यन्त्र, टर्च र स्ट्रेचर हुने गरेको छ।

'हामीले यसरी श्रेणी विभाजन गरेर त्यसैअनुसार एम्बुलेन्सहरुलाई स्टिकर प्रदान गर्ने निधो गरेका थियौँ', प्रजिअ ढकाल भन्छन्, 'तर पटक पटक बोलाउदा पनि आइदिएनन्।'
ढकालका अनुसार उपत्यकामा सञ्चालित एम्बुलेन्सहरुको गैरजिम्मेवारीपना भाडादर कायम गर्ने मामलामा पनि देखिएको छ। 'कस्तो सेवा प्रदान गर्ने एम्बुलेन्सले कति भाडा लिने भनेर पाँच महिना पहिल्यै निर्धारण पनि गरेका हौं,' उनी भन्छन्, 'तर, सबैले मनपरी भाडा असुल्न छाडेका छैनन्।'

समितिले सबै सुविधा सम्पन्न एम्बुलेन्सका हकमा प्रति किलोमिटर २० रुपैयाँभन्दा बढी लिन नपाउने दर रेट तोकेको थियो।

'प्रयोगकर्ताले एम्बुलेन्सको सेवा र शुल्कलाई राम्ररी बुझ्न सकुन् भन्ने उद्देश्यले वर्गीकरण र मूल्य निर्धारण गरेका थियौं,' उनी भन्छन्, 'तर, सोचे अनुसार सफलता मिलेन।'
अटेर गरेर नआउने एम्बुलेन्स सञ्चालकलाई केही समय अघिमात्र आफूहरुले ट्राफिकलगायतका निकाय मार्फत पक्राउ गर्न निर्देशन दिएको समेत उनले बताए। 'हामीले उल्लेख गरेको भन्दा कम सुविधा दिएर एम्बुलेन्स सञ्चालन गर्नेलाई पक्राउ गरेर चल्न नदिन मैले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छु,' उनी भन्छन्, 'मानेनन् भने म आफैं अघि सरेर भएपनि कारबाही गर्नेछुँ।'

काठमाडौंका कतिपय एम्बुलेन्स 'ग' वर्गको पनि भन्न नसुहाउने किसिमका रहेको समितिका सदस्य तथा नेपाल रेडक्रस सोसाइटीका सचिव संघरत्न शाक्य बताउँछन्। 'सकेसम्म एम्बुलेन्स जस्तो संवेदनशील साधनलाई किन कडाई गर्ने भनेर हामी नरम रुपमा प्रस्तुत हुन खोज्यौं,' शाक्य भन्छन्, 'तर, यसलाई हाम्रो कमजोरी सम्झेर अति गर्न थालेका छन्।'

लापरवाह एम्बुलेन्सलाई कारवाहीको दायरामा ल्याउन जरुरी भइसकेको शाक्य बताउछन्। कोरा तथ्यांक अनुसार काठमाडौंमा हाल एक सय ५० भन्दा बढी एम्बुलेन्स गुडिरहेका छन्।

साभार नागरिक

Don't Miss
© all rights reserved
made with by netKUTI