काठमाडौ, आश्विन ४ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले द्वन्द्वकालमा राज्य र गैर राज्यपक्षबाट मारिएकाहरुको परिवारका लागि दसैं अगाडि विषेश राहतको कार्यक्रम ल्याइने बताएका छन् । सरकारको नेतृत्वकर्तादल माओवादी अध्यक्ष दाहालले पार्टीले समेत यसबारे निर्णय गरिसकेको भन्दै दसैं अघि नै द्वन्द्वकालका पीडितहरुलाई सम्बोधन गरी विशेष कार्यक्रम ल्याइने बताए । अन्तर्राष्ट्रिय शान्ति दिवसका क्रममा ओरेक नेपालले बुधबार आयोजना गरेका कार्यक्रममा बोल्दै दाहालले विशेष राहत कार्यक्रम प्याकेजका लागि सरकारलाई छिट्टै संयन्त्र निर्माण गर्न आग्रह गरिने बताए । शान्ति सम्झौतामा उल्लेख भए बमोजिम सत्य निरुपण तथा बेपता आयोग केही दिनमा गठन हुने बताए । महिलामथि हुने गरेको हिंसाको घटना नियन्त्रणका लागि स्थानीय स्तरमा समेत बढाउन सरकारलाई उनले आग्रह गरे । अध्यक्ष दाहालले अबको मन्त्री परिषद् विस्तारमा ३३ प्रतिशत महिला प्रतिनिधित्व पुर्याइने समेत प्रतिबद्धता जनाए । यस्तै कार्यक्रममा एमाले अध्यक्ष झलनाथ खनालले राज्यका हरेक अंगमा महिलालाई ५० प्रतिशत अवसर दिने पक्षमा आफ्नो पार्टी रहेको दावी गरे । मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले ३३ प्रतिशत महिला प्रतिनिधित्वको कुरा उठे पनि १० प्रतिशत महिलाले अवसर पाउन नसकेको बताए । source: ekantipur.com