होम कार्की काठमाडौ, भाद्र २४ - अवैध काममा लगाएको भन्दै संयुक्त अरब इमिरेट्स (यूएई) को श्रम अदालतले तोकेको जरिवाना कम्पनीले नदिँदा दुई जना नेपाली कामदार आठ महिनादेखि स्वदेश फिर्न पाएका छैनन् ।
यूएईको सारजाहास्थित मन्डला स्याकुरिटी क्लिनिङ सिर्भिस एन्ड बिल्डिङ कम्पनीले क्लिनरमा ल्याएका दुई नेपालीलाई सुरक्षा गार्डको काम लगाएपछि जरिवाना लगाएको हो । उसले अदालतले तोकेबमोजिम जरिवाना नतिर्दा नवलपुर-९, सिन्धुपाल्चोकका हरिराम श्रेष्ठ र लालपुर कपिलवस्तुका रामकुमार यादव घर फिर्न अनुमति पाएका छैनन् । अदालतले कम्पनी मालिकलाई एक लाख २० हजार दिराम (२४ लाख रुपैयाँ) जरिवाना तोकेको छ । 'हामी डिसेम्बर २३ गते घर फिर्नु पर्दथ्यो,' पीडित हरिरामले भने, 'मालिकले जरिवाना नतिरिदिँदा घर र्फकन पाएका छैनौं ।' दुई पीडित हाल ८ महिनादेखि काम र तलबविहीन भएर सारजाहाको 'फिल्डजोन' मा घर जाने दिनको पर्खाइमा बसेका छन् ।
अदालती मुद्दा भएकाले दूतावासले चाहेर पनि तत्काल स्वदेश पठाउन नसक्ने यूएईको राजधानी आवुधाबीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत दीपक अधिकारीले बताए । पीडितले आफ्नो अवस्थाबारे जानकारी दिँदै दूतावासका अधिकारीलाई उद्धारका लागि पटक-पटक अनुरोध गर्दै आएका छन् । 'हाम्रो समस्यालाई दूतावासले गम्भीर रूपमा नलिएको हामीले अनुभव गर्यौं,' दूतावासप्रति उनीहरूको गुनासो थियो, 'सुरुदेखि लगातार समस्या राखिरहँदा सुने नसुनेझै छ ।' पीडितलाई ड्युटी बसिरहेका बेला यूएई प्रहरीले अवैध काम गरेको भन्दै पक्राउ गरेको थियो । त्यतिखेर प्रहरीले कामदारको गल्ती नदेखिएकाले केही घन्टा नियन्त्रणमा लिएर छाडिदिएको थियो । 'हाम्रो गल्ती नदेखिएपछि प्रहरीले छाडिदिएर कम्पनीमाथि मुद्दा हालेको थियो,' उनीहरूले भने, 'हाम्रो गल्ती नहुँदा पनि घर फिर्न पाएनौं ।' 'हाम्रो गल्ती नभएको कुरा प्रहरी थाहा छ, अदालतले पुष्टि नै गरेको छ । दूतावासलाई पनि थाहा छ,' हरिकृष्णले भने, 'तैपनि स्वदेश फिर्न पहल नभएको देख्दा अचम्म लाग्छ ।' उनीहरूका आफन्त पनि उनीहरूको उद्धारका लागि परराष्ट्र मन्त्रालय धाउन भने छाडेका छैनन् ।
साभार इकान्तिपुर