आश गुरुङ, लमजुङ, भदौ २६ गते । पृथ्वी राजमार्ग बस सञ्चालक समितिले क्षतिपूर्ति नदिएको भन्दै गत भदौ ४ गते भएको सवारी दुर्घटनाका पीडित परिवारले आज लमजुङमा यातायात बन्द गराएकाछन् ।
नरसंहारकारी सो घटनाको समितिले जिम्मेवारी लिन आलटाल गरेको, घटना घटेको २२ दिन वित्दापनि मृतकका परिवारलाई किरिया खर्च नदिएको, पीडित परिवारलाई बेवास्ता गरेको भन्दै आन्दोलन स्वरुप यातायात बन्द गराएको पीडित परिवारले जनाएका छन् । घटनाको न्यायिक छनविन गरी दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्नुपर्ने र परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने पिडित परिवारको माग रहेको छ । कृष्ण जन्मअष्टमीका दिन घटेको सो दुर्घटनामा १ नाबालक सहित ४ जनाले ज्यान गुमाएका थिए । यातायात बन्दका कारण लमजुङवाट लामो तथा छोटो दुरीका कुनै सवारी साधन छुटेका छैनन् । यातायातका साधन नचल्दा यात्रु तथा पर्यटकहरु अलपत्र परेकाछन् भने छोटो दुरीमा उनीहरु हिँडेर जान बाध्य छन् ।
हिजो दिउँसो प्रशासनको रोहबरमा पृथ्वी राजमार्ग बस सञ्चालक समिति र पीडित परिवारबीच भएको वार्तामा घटनाको जिम्मेवारी लिने विषय र क्षतिपूर्तिको विषयमा कुरा मिल्न नसकेपछि पीडित परिवारले आज यातायात बन्द गराएका हुन् ।