काठमाडौ, श्रावण २६ - प्रधानमन्त्री झलनाथ खनालले शान्ति प्रक्रियाका काममा दुई दिनमा कुनै प्रगति नभए सहमतिका साथ अघि बढ्न नसक्ने उल्लेख गर्दै माओवादीसँग गठबन्धनको मिसनसमेत समाप्त हुने माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई जानकारी गराएका छन् । मलेसियाबाट फर्केपछि बुधबार स्वास्थ्यस्थिति बुझ्न बालुवाटार पुगेका दाहाललाई खनालले शनिबारसम्मको समयसीमा ख्याल गरेर शान्ति प्रक्रियामा बे्रक थ्रु गर्न आग्रह गरे ।'शान्ति प्रक्रियामा प्रगति हुँदैन भने हामीले जे मिसनका साथ सरकार बनाएका थियौं, त्यसलाई अघि बढाउन सकिँदैन,' प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार सूर्य थापाले भने, 'मिलेर अघि बढ्ने वातावरण तयार गर्ने काम तपाईंको हो ।' प्रधानमन्त्री खनालले माओवादीका नेताहरूसमेतका छलफलका आधारमा आफूले २८ गतेको समयसीमा तोकेको उल्लेख गर्दै अब पार्टीभित्रका समस्यामा अल्झेर शान्ति प्रक्रियाका कामलाई यथास्थितिमा नराख्ने आग्रह गरे । शान्ति प्रक्रियामा काम अघि बढ्छन् भनेर नै आफूले पार्टीभित्रको तीव्र असन्तुष्टिका बीच पनि जोखिम मोलेर अघि बढिरहेको तर माओवादी त्यसमा जिम्मेवार नभए आफूलाई अप्ठ्यारो पर्ने धारणा खनालले दाहालसँग राखेका थिए । गृह मन्त्रालय दिनेदेखि मन्त्रीहरूको शपथ प्रकरणसम्म पार्टीेको निर्णय उल्लंघन गरेको विषयमा एमालेभित्र खनाल निसानामा छन् । दाहालले भने आफ्नो प्रतिबद्घता दोहोर्याउँदै 'स्वास्थ्य लाभ गर्दै गर्नुहोस्, सबै काममा प्रगति हुन्छ' भन्दै आश्वासन दिएका थिए । खनालले बुधबार बिहानै माओवादी उपाध्यक्ष मोहन वैद्यलाई पनि बालुवाटारमा भेटेका थिए । स्वास्थ्य बुझ्न गएका वैद्यलाई प्रधानमन्त्रीले शान्ति प्रक्रियामा जिम्मेवार भएर अघि बढ्न आग्रह गरेका थिए । समाचारमा खपत हुने खालको कुरा गर्नुभन्दा पनि समाधानका आधार निर्माण गर्नेतर्फ अघि बढ्न खनालले वैद्यको ध्यानाकर्षण गराएका थिए । माओवादीभित्र दाहाल शान्ति प्रक्रिया अघि बढाउनेमा प्रतिबद्घ भए पनि वैद्य पक्षको अवरोधका कारण काम अघि बढ्न नसकेको प्रधानमन्त्री निकटहरूको बुझाइ छ । त्यसैलाई इंगित गर्दै प्रधानमन्त्रीले वैद्यलाई गम्भीर हुन ध्यानाकर्षण गराएका हुन् ।दाहालसँगको भेटपछि प्रमुख प्रतिपक्षी दलका नेता रामचन्द्र पौडेल पनि खनाललाई भेट्न बालुवाटार पुगेका थिए । पौडेलसँग पनि खनालले पाँचबँुदे सहमति कार्यान्वयनका लागि आफू स्पष्ट भइसकेकाले अब सहमति निर्माण गर्ने प्रक्रियामा गम्भीर हुन आग्रह गरेका थिए । शान्ति प्रक्रिया अघि नबढे राजीनामा दिने घोषणा गरिसकेको र त्यो विषय पनि जानकारी गराइसकेकाले अब कांग्र्रेस जिम्मेवार बनेर अघि बढ्नुपर्ने अवस्था आएको खनालले बताएका थिए । 'मैले आफ्नो कुरा सार्वजनिक रूपमा भनिसकेको छु तर अब शान्ति प्रक्रिया र सहमतिका लागि तपाईंहरू लचिलो र जिम्मेवार भएर प्रस्तुत हुनुपर्यो,' खनालले पौडेललाई भनेका थिए, 'सहमतिको कुरा गरेर हामी फेरि पनि बहुमतमा जानेतर्फ नलागौं ।' बहुमतीय सरकारको विकल्पमा जानु भनेको फेरि पनि अन्धकारतर्फ प्रवेश गर्नु भएको उल्लेख गर्दै खनालले सहमति निर्माणमा रचनात्मक बन्न पौडेलको ध्यानाकर्षण गराएका थिए । पौडेलसँगको भेटपछि खनाललाई उपप्रधानमन्त्री तथा फोरम अध्यक्ष उपेन्द्र यादवले पनि भेटेका थिए । साभारः इकान्तिपुर