धादिङ, भाद्र १० - चोरी गरेर भाग्दै गरेको अवस्थामा पक्राउ परेका ४ जनालाई जिल्ला प्रहरी कार्यलय धादिङले सार्वजनिक गरेको छ । जिल्लाको नौविसे - ९ बस्ने सुरज उप्रेतीको घरमा भदौ ६ गते राति ९ बजे प्रवेश गरी सपरिवार खाना खाइरेहेको अवस्थामा परिवारलाइ नै नियन्त्रणमा लिई गरगहना लुटेर भाग्दै गरेको अवस्थामा पक्राउ परेका चार जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले शुक्रबार सार्वजनिक गरेको हो । सार्वजनिक गरिएकाहरुमा मकवानपुर जिल्ला टिस्टुङ गा वि स वडा नं २ का २१ वर्षीय अनिल भनिने सन्तोष बल, सोही ठाउका १८ वर्षका रोशन भनिने आकाश थिङ, १९ वर्षका शंकर भनिने सानुबाबु बल र २१ वर्षीय मंगले भन्ने वीरबहादुर बल रहेका छन् । उनीहरुलाई चोरी गरेर भाग्दै गरेकेा अवस्थामा इलाका प्रहरी कार्यलय खानीखोलाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । उनीहरुले नकाव लगाएर घरभित्र प्रवेश गरी सुरुमा ३ लाख माग गरेको तर, पछि गहना लुटेर भागेको प्रहरीसामु बताएका छन् । प्रहरीले उनीहरुको साथबाट १ थान सिक्री १ थान तिलहरी, १ थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने १ राउण्ड गोली, २ थान खुकुरी र ५ थान मोवाइल समेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाइ डाँका मुद्दामा म्याद थप गरी अनुसन्धानको कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरीक्षक गणेशबहादुर रेग्मीले बताए ।