Responsive Ad Slot

latest

भारतीय अभिनेता शम्मी कपुरको निधन

Sunday, August 14

/ by Admin BHOLA THAPA

मुम्बइ , श्रावण २९ - बेजोड अभिनयका कारण ५० र ६० को दसकमा हिन्दी सिनेमाको पर्दाका चर्चित अभिनेता शम्मी कपुरको आइतवार विहान निधन भएको छ । ७९ वर्षका कपुर पछिल्ला केही वर्षदेखि विरामी थिए । उनको मृगौलाले काम नगरेपछि डाइलासिस गरिंदै आएको उनको पारिवारिक स्रोतले बताएको छ । सातामा तीनपटकसम्म डाइलासिस गर्नुपर्ने भएका उनी मुम्बइको बीच क्याण्डी अस्पतालको गहन चिकित्सा इकाइमा उपचाररत थिए । उनको परिवारमा पत्नी नीलादेवी, छोरा आदित्यराज र छोरी कञ्चन देसाइ छन् । उनको अन्तिम संस्कार सोमबार गरिने भएको छ । सन् १९५३ देखि बलिवुडमा देखापरेका कपुरको पहिलो चलचित्र ‘जीवन ज्योति’ थियो । १९६१ मा सुपरहिट भएको ‘जंगली’ चलचित्रले उनलाई बलिउडमा बलियो रूपमा स्थापित भएको हो । भारतका एल्विस प्रेसले भनिने उनले त्यसबेला अभिनय यात्रा थालेका हुन् जुनबेला उनका दाजु राज कपुर, देव आनन्द र दिलिप कुमार छाएका थिए । उनको वास्तविक नाम शमसेर राज कपुर हो । २१ अक्टुबर १९३१ मा जन्मेका शम्मी कपुर भारतीय रंगमञ्चका चर्चित कलाकार पृथ्वीराज कपुरका माहिला छोरा हुन् । उनका दाजु राज कपुर र भाइ शशि कपुर हुन् । अभिनय क्षेत्रको पारिवारिक पृष्ठभुमी भएपनि उनको सुरुआती समयका ‘रेल का डिब्बा’ मा मधुवाला, ‘शमा परवाना’ मा सुरैया र ‘हम सब चोर है’ मा नलिनी जयवंतका साथ अभिनय गरेपनि सफल हुन सकेका थिएनन् । पचासको दसकमा ‘डक–टेल’ शैलीको हेयर स्टाइल बनाएर उनले ‘तुम सा नही देखा’ मा आफुलाई फरक रूपमा पेश गरे । सन् १९६१ मा जंगली हिट भएपछि उनी पुरा दसकसम्म चर्चित भइरहे । दर्शकले उनलाई ‘सुकु सुकु’, ‘ओ हसिना जुल्फोंवाली’, ‘आज कल तेरे मेरे प्यार के चर्चे, र ‘आ आ आजा मै हूँ प्यार तेरा’ जस्ता गीतमा फरक प्रकारको प्रस्तुतीले सम्झन्छन् । कश्मीर की कलि, एन इभिनिङ इन पेरीस, राजकुमार, जानवर जस्ता केही चलचित्रमा उनको अभिनयलाई लिएर प्रश्नहरू उठेका थिए । तर, जंगली, बदतमीज, ब्लफ मास्टर,पगला कहीं का, तीसरी मंजिल र व्रम्हचारी चलचित्रको सफलताले उनका आलोचकको मुख बन्द गरिदिएको थियो । सन् १९७१मा आएको ‘अंदाज’ र त्यपछिका सुभास घइका ‘विधाता’, ‘हिरो’ र राज कपुरको ‘प्रेम रोग’ चलचित्रमा उनी चरित्र अभिनेताको रूपमा प्रस्तुत भए । सूचनाप्रविधि रूचाउने कपुर जीवनका पछिल्ला वर्ष अध्यात्मतर्फ आकर्षित थिए । उनको निधनमा बलिवुडले शोक मानेको छ । महानायक अमिताभ बच्चनले ट्वीटरमा लेखेका छन् ‘शम्मी कपुरजीको आज विहान सवा ५ बजे निधन भयो । म त्याहा जादैछु । फिल्म उद्योगका मस्तमौला अभिनेता हाम्राबीच रहनु भएन ।’ निर्देशक मधुर भण्डारकरले लेखेका छन् ‘शम्मीजीको निधनको खबरले म दुखी छु । उहाँ भारतीय सिनेमाको याहू हुनुहुन्थ्यो । तपाइका आकर्षण र जीवन हामी सबै सधै सम्झनेछौ ।’ साभार इकान्तिपुर
Don't Miss
© all rights reserved
made with by netKUTI