लाश टुक्राटुक्रा पारिएको अवस्थामा-
बरुण पनेरू, डडेल्धुरा, साउन २३- डडेल्धुराको असिग्राम गाविसको साहुखर्क नजिक रहेको ठांडेगोठ गाउँमा थप एक महिलाको कंकाल भेटिएपछि प्रहरीले स्थानीय जीतबहादुर देउवाले आफ्नी कान्छी श्रीमती पार्वती र बुहारी साबित्रीको हत्या गरी फरार भएको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मीन रावलका अनुसार प्रहरीले अनुसन्धानका क्रममा स्थानीय जीतबहादुर देउवाको गोठमा महिलाको टुक्राटुक्रा पारिएको लाश भेटिएको दोस्रो दिन नजिकै थप अर्को महिलाको कंकाल फेला पारेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा देउवाकी श्रीमती र बुहारीका सबै लत्ताकपडा रहेको तर गरगहना, पैसा र अन्य आवश्यक सामग्री बोकेर हत्या गरी देउवा फरार भएको देखिएको निरीक्षक रावलले बताए। 'सबै सामान घरभित्र यथावत् छन् निरीक्षक रावलले भने तर देउवाका लत्ता कपडा, पैसा र गरगहना नभएकाले उन्ले श्रीमती र बुहारीको हत्या गरी फरार भएको प्रहरीले निष्कर्ष निकालेको हो।' बिहीबार प्रहरीले स्थानीय गाउँलेको सूचनाको आधारमा देउवाको गोठमा कुहिएको अवस्थामा दर्जनौं टुक्रा पारी विभत्स हत्या गरी फालिएको शव फेला पारेको थियो। गोठमा बाँधिएकै अवस्थामा मारिएका चौपाया पनि थिए, रावलले भने 'शनिबार अनुसन्धान गर्दै जाँदा थप एक महिलाको कंकाल भेटिएको हो।'भेटिएको महिलाको लाशका पनि दर्जनौं टुक्रा पारिएको छ। उनले भने 'घटनास्थलमा रहेका सामग्री र खप्परमा रहेका कपालका जगल्टाले मात्र महिलाको लाश भएको अनुमान गरिएको हो।'देउवाकी श्रीमतीले उजुरी दिएको आधारमा केही समयअघि मात्र जिल्ला प्रहरी कार्यालयले दुबै पतिपत्नीको मिलापत्र गराएको थियो। प्रहरीका अनुसार घरायसी झगडाका कारण हत्या भएको हुनसक्ने भए पनि अनुसन्धान जारी रहेको छ। देउवा असीग्राम गाविसका पूर्व गाविस उपाध्यक्ष समेत हुन्। उनकी जेठी श्रीमती र उनीबीच सम्बन्ध नभएको लामो समय बितेको पनि प्रहरीले जनाएको छ। जेठी श्रीमतीका एक छोरा नेपाली सेनामा र अर्को छोरा भारतमा काम गर्दै आएका छन्। जेठी श्रीमती नजीकैको रुवाखोला गाउँमा बस्दै आएकी छन्। प्रहरीले फरार रहेका देउवाको खोजी गरिरहेको छ। साभारः नागरिक न्यज