काठमाडौं, श्रावण १६ - एक युवक, जो अरबपति बन्न चाहन्छ । काम/धन्दा गरेर भन्दा पनि कुनै अरबपति केटीलाई फसाएर बिहे गर्ने अनि उसको धनको मालिक बनेर ऊ अरबपति हुने छोटो बाटो खोज्छ । उता, अर्की युवती पनि त्यस्तै छे । सपनामा पनि युवती घन्टा-घन्टामा कार फेरेको, उच्च स्तरको खानपान र जीवनशैली अपनाएको देख्छे । त्यसलाई विपनामा बदल्न ऊ पनि अरबपतिलाई पति बनाउने अभियानमा छे । फरक-फरक परिवेशका तर सपना उही बोकेका यी दुई आखिरमा एक-अर्कासँग भेटिन्छन्, गलत परिचय साथ । त्यसपछि फिल्म 'अरबपति' हेर्ने दर्शकले केही मनोरञ्जनको मसला पाउँछन् ।
फ्याक्ट्री मजदुरको भाइ राजन लक्का जवान भइसकेर पनि कुनै काममा हात हाल्न चाहेको छैन । 'सोचविचार ठूलो लिए पो ठूलै मान्छे भइन्छ त,' दाइको फ्याक्ट्रीमै काम लगाइदिने प्रस्तावमा ऊ जवाफ दिन्छ, 'म त्यस्ता २/४ वटै फ्याक्ट्रीको मालिक बन्ने विचारमा छु, के कामको कुरा गर्नुहुन्छ ?' तर, उसको भेट भने फ्याक्ट्री मालिकको ड्राइभरकी छोरीसँग हुन्छ । दुर्भाग्य, ड्राइभर बाबु बिरामी भएकाले आफैंले कार हाँकेर मालिकलाई खाना पुर्याउन गएकी कल्पनालाई उसले धनी केटी ठान्छ र नजिकिन्छ ।
सपनालाई पनि राजनले चलाएको कार उसको नभई केटी फसाउन भाडामा लिएको भन्ने थाहा हुँदैन र मुर्गा भेटेकोमा ऊ पनि दंग पर्छे । दुवैको स्वार्थ एउटै भएपछि विवाह पनि तत्काल हुन्छ तर सुहागरात अघि नै वास्तविकता उदांगिन्छ । त्यसपछि दर्शकलाई केही सन्देश बाँडेपछि फिल्म टुंग्याइन्छ ।
कमेडी शैलीमा निर्मित फिल्ममा दुई मुख्य पात्रहरूको बेइमानीप्रति दर्शकहरू सुरुदेखि नै जानकार हुन्छन्, जसले गर्दा उनीहरूको आडम्बरमा दर्शकले केही मजा लिन सक्छन् । रातारात अरबपति (फिल्मको शीर्षक नै अरबपति राखिदिएकाले हो कि, उनीहरू दुवै न करोडपति बन्ने सपना देख्छन् न खर्बपति) बन्ने महत्त्वाकांक्षाको चरित्रमा प्रमोद र झरनाले चित्त बुझ्दो नै काम गरेका छन् । फिल्मको संवाद छरितो भएकैले जीवन्त बनेको छ । प्राविधिक रूपमा अत्यन्त कमजोर रहेको भए पनि विषयवस्तु र प्रस्तुतीकरणले भने फिल्मलाई झर्को लाग्दो हुनबाट बचाएको छ ।
यो फिल्मको छायांकन कमजोर छ । प्रकाश संयोजनमा खास ध्यान नपुर्याई खिचिँदा कतिपय दृश्य अँध्यारोमा हराएका छन् । सम्पादनमा झारा टार्ने उपाय मात्रै गरिएको छ । फिल्ममा गानाबजानाले कुनै महत्त्व राख्न सकेका छैनन् । राम कार्कीको संगीत रहेको गीतमध्ये 'सयौं गीत संगीत छन्, कुन गीत सुनाइदिउँ...' अलग्गै सुन्दा राम्रो भए पनि फिल्ममा गलगाँड झैं बन्न पुगेको छ । गीतको भावार्थ फिल्मसँग कहीँ कतै पनि मिल्दैन । अझ उक्त गीत सकिएको एक मिनेट बित्न नपाउँदै अर्को गीत बज्न थाल्छ ।
दयारामकै कथामा युगेश रायमाझीको पटकथा रहेको 'अरबपति' मा राजनको दाइ राजेन्द्रको भूमिकामा निखिल पनि देखिएका छन् । उनी भएपछि अभिनयभन्दा पनि फिल्ममा धुमधडाका हुन्छ भन्नेमा अब दर्शक ढुक्क भइसके । तर कम्प्युटर इफेक्टमा उनले गुन्डाहरूलाई पिटेकोले भन्दा बरु प्रमोदको कमेडी फाइटले दर्शकलाई मनोरञ्जन दिएको छ । हिमाल केसीले फिल्मको द्वन्द्व निर्देशन गरेका हुन् ।
निखिललाई एक हात काटिएको अवस्थामा हिमालले गुन्डालाई तह लगाउने जिम्मा त दिएका छन्, तर काटिएको हात सर्टभित्र लुकाइएको बेलाबखत महसुस हुन्छ । उता पहिले फाइट खेल्न नजान्ने प्रमोद पनि फिल्मको अन्तिम फाइटमा भने एकाएक स्टन्ट म्यान जस्तो बनेर प्रस्तुत भएको देखिन्छ । अन्तिम फाइटकै कुरा गर्दा दृश्यमा हिरो पक्ष र भिलेन पक्षको दिउँसोमास नै सार्वजनिक स्थलमा मारामार चल्दा पनि पृष्ठभूमिमा भने एक महिला भाँडा माझिरहेकी देखिन्छिन् भने एउटी स्कुले छात्रा गन्तव्यतिर लागिरहेकी छन्, युवाहरू त्यहीँ वरपर टहलिरहेका छन् । फिल्मकै पर्दाभित्र अटाएको उक्त दृश्य हेर्दा लाग्छ, त्यहाँ केही पनि भएको छैन । यति कमजोरी भए पनि हास्यपरक फिल्मलाई मध्यम मान्न सकिन्छ । सभारः इकान्तपुर सुशील पौडेल