सूचना दिनेलाई २० लाख पुरस्कार-
३० साउन : पदयात्राका क्रममा १४ महिनादेखि रसुवाको लाङटाङ उपत्यकामा हराइरहेकी अमेरिकी पर्यटक औब्री स्याक्कोलाई उनका बाबु पौलले पुनः खोजी तथा उद्धार गर्ने निर्णय गरेका छन्। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले गत शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा पौलले छोरी हराएको घटनामा केही तथ्य फेला परेपछि खोजी कार्यलाई निरन्तरता दिने बताए। 'लाङटाङका स्थानीयबासिन्दा डराइरहेको भेटेँ,' पौलले भने, 'मलाई विश्वास छ, उनीहरूलाई मेरी छोरीका बारेमा पक्कै केही थाहा छ तर पनि उनीहरू केही भन्न चाहँदैनन्।'पौलले नेपाल प्रहरी, नेपाली सेना, टान, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, स्थानीय प्रशासन र सम्बद्ध सबै निकायलाई सहयोग गर्न आग्रह गरेका छन्।छोरीबारे जानकारी दिनेलाई पौल परिवारले २० लाख रुपैयाँ पुरस्कार दिने घोषणा पनि गरेको छ। 'मेरी छोरी त्यतैतिर छिन् भन्ने विश्वास छ, र उनी ठूलो समस्यमा छिन्,' पौलले भने। उनी हराएको खबर आएलगत्तै नेपाल पर्यटन बोर्ड र टानले हेलिकोप्टरबाट लाङटाङ क्षेत्रमा खोजी गरे पनि भेट्न सकेको थिएन। औब्रीले पर्यटन बोर्डबाट २० अमेरिकी डलरमा 'पदयात्री सूचना व्यवस्थापन प्रणाली' (टिम्स) कार्ड खरिद गरेर पदयात्रामा गएकी थिइन्। उनी एक्लै पदयात्रामा गएको टानले जनाएको छ। बाबु पौलले उनी एक साताका लागि पदयात्रामा गएको बताए। उनी स्याफ्रुवेंशीबाट २०६७ वैशाख ७ मा लाङटाङ पदयात्रा मार्ग प्रवेश गरेको रेकर्ड लाङटाङ राष्ट्रिय निकुञ्जमा रहेको जानकारी पौलले दिए। 'उनी क्यान्जिङ गुम्बा जाँदै थिइन्,' पौलले भने, 'बाटोमा पर्ने घोडातबेला भन्ने ठाउँमा नेपाली सेनाको चेक पोस्टमा विवरण लेख्नुपर्ने भए पनि लेखिएको रहेनछ। उनी त्यहीँ कतैबाट हराएको हुन सक्ने अनुमान छ।'छोरीले वैशाख १५ मा अन्तिम पटक आफूसँग टेलिफोनमा कुराकानी गरेको पौलले बताए। उनका अनुसार छोरीसँग मोबाइल फोन वा स्याटेलाइट फोन केही पनि थिएन। वैशाख ८ मा त्यहाँको नमस्ते होटलमा रात बिताएको र ९ मा लामा होटलमा खाना खाएको रेकर्ड भेटिएको छ। source: brusselnepal.com