Responsive Ad Slot

latest

शिल्पा अब मुडुली

Monday, August 8

/ by Admin BHOLA THAPA
मुम्बई, श्रावण २३ - बेलायतको रियालिटी टिभी सो बिग ब्रदर जितेपछि एकाएक चर्चामा आएकी बलिउड नायिका शिल्पा सेट्टी त्यसपछि पुनः सेलाउँदै गइन् । फाट्टफुट्ट सुनिनुबाहेक फिल्ममा समेत खासै काम पाउन नसकेकी यी सुन्दरीले भने फिल्ममा खेल्नकै लागि आफ्नो सुन्दर कपालको बलिदान गरेकी छन् । अन्तर्राष्ट्रिय ब्यानरमा बनेर रिलिजको तयारीमा रहेको फिल्म 'द डिजायर' मा शिल्पा पुरै मुडुली स्वरूपमा देखिएकी हुन् । फिल्ममा भिक्षुणीको भूमिकामा रहेकी ३६ वर्षीया नायिकाले फिल्मका लागि वास्तवमै केश मुण्डन गरेकी भने होइनन् । मुडुलो स्वरूपमा देखिनका लागि उनले आफ्नो लामो कपाल कटाएकी पनि होइनन्, विशेष मेकअपको सहायताले त्यसलाई छोपेकी थिइन् । यस्तो मेकअपका लागि झन्डै तीन घन्टासम्म नायिकाले धैर्य गर्नुपरेको थियो । आर सारथको लेखन तथा निर्देशनमा भारतीय र चिनियाँ लगानीकर्ताको संयुक्त लगानीमा बनेको उक्त फिल्ममा शिल्पाका अलावा जया प्रदा, अनुपम खेर पनि देखिनेछन् । शिल्पाको अपोजिटमा भने चिनियाँ कलाकार जिया यु छन् । फिल्म एक भारतीय क्लासिकल डान्सर गौतमी र उनको चिनियाँ कलाकार प्रेमी जेइ लिङका प्रेमका बारेमा रहेको छ । 'द डिजाएर' भारतकै केरला, गुजरात, महाराष्ट्र र आन्ध्र प्रदेशका साथै मलेसियामा छायांकन गरिएको थियो । फिल्मको स्क्रिप्टले भने बोस्टन फिल्म महोत्सवमा उत्कृष्टताको अवार्ड पाइसकेको छ । फिल्म युनिटले फिल्मलाई विभिन्न प्रतिष्ठित महोत्सवहरूमा सहभागी गराउने उद्देश्यले यसको निर्माण गरेको हो । शिल्पाका अनुसार यसै अगस्ट २४ मा न्युयोर्क फिल्म फेस्टिभलमा समेत देखाइनेछ । साभारः इकान्तिपुर

Don't Miss
© all rights reserved
made with by netKUTI