पर्वत, १८ साउन । जिल्लाको लिमिठाना गाविसमा-९ का एक व्यक्तिले मदिरा सेवन गरी गएराति आफ्नै श्रीमती र काकीको हत्या गरेका छन् । मदिरा सेवन गरेका स्थानीय भक्तबहादुर भण्डारीले हँसिया प्रयोग गरी आफ्नै श्रीमती मीना भण्डारी र काकी पर्ने ६५ वर्षीया हरिकला भण्डारीको घाँटी रेटेर हत्या गरेका हुन् । मदिराले मात्तिएका भण्डारीले घरायसी झगडा भइरहेका बेला घरमा नै रहेकी श्रीमतीलाई पहिलो प्रहार गरी ज्यान लिएका थिए । उनको आक्रमणबाट आमा धनसरी भण्डारी र भाइबुहारी नाता पर्ने पवित्रा भण्डारी गम्भीर घाइते भएका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार गरिएपश्चात् थप उपचारका लागि जिल्ला अस्पतालतर्फ लगिएको छ । हँसिया प्रहार गरी फरार रहेका अभियुक्त भक्तबहादुर भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक ज्ञानबहादुर सेट्ठीले जानकारी दिनुभएको छ । उनी भागेर कुर्घा गाविसको उल्लेरी पुगेका बेला स्थानीय गाउँलेले समातेर प्रहरीलाई बुझाएका थिए । घटनाबारॆ थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक विजयराज पण्डितको नेतृत्वमा सुरक्षाकर्मीहरुको एक टोली त्यसतर्फ खटिएको छ । मृतकको शव पोस्टमार्टमका लागि सदरमुकाम लग्ने पहल भइरहेको छ । वर्षा नरोकिएकाले घाइतेहरुको उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । {Pokharatoday}