विमल खतिवडा पर्वत, श्रावण २१ - बिहीबार साँझ ट्रकको ठक्करबाट बालिकाको मृत्यु भएपछि क्षतिपूर्ति र दोषिलाई कारबाहीको माग गर्दै मृतकका आफन्तले शनिबार पर्वत जिल्ला बन्द गराएका छन् । गाडी मालिकलाई उपस्थित गराएर प्रहरीले क्षतिपुर्तिका लागि पहल नगरेका भन्दै आफन्तले जिल्ला बन्दको आह्वान गरेका हुन् । बालिकाका आफन्तले विहानैदेखि सडकमा टायर राखेर प्रर्दशन गरी रहेका छन् । पोखरा-बागलुङ राजमार्गमा प्रर्दशन गरेकाले जिल्लाबाट बाहिरका लागि छुट्ने लामा तथा छोटा दुरीका यातायातका साधन चल्न सकेका छैनन । बजार पसल बन्द छन् । शुक्रवार पनि सडक अबरुद्ध गराएका आफन्तले घट्नाप्रति प्रहरी प्रशासन गम्भीर भई नलागेकाले जिल्ला बन्दको आह्वान गरिएको जनाएका छन् । उता प्रहरीले भने गाडी मालिकलाई उपस्थित गराई पीडित पक्षसंग वार्ता गरी बन्द खुलाउने प्रयास भई रहेको जनाएको छ । ट्रकको ठक्करबाट अस्ति साँझ कास्की ८ घर भई पर्वतको शिवालय चोकमा बस्दै आएकी सीता जैसीकी ९ बषिर्या छोरी रीमा जैसिको मृत्यु भएको थियो ।ekantipur