काठमाडौ, श्रावण २० - समायोजनमा जान चाहने माओवादी लडाकुलाई नेपाली सेनाको अधिकृत बन्न एसएलसी उत्तीर्ण शैक्षिक योग्यता भए पुग्ने प्रस्ताव गरिएको छ ।माओवादी लडाकुको रेखदेख, समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समिति मातहतको सचिवालयले हाल सेनाको अधिकृत बन्न आवश्यक आईए (प्रमाणपत्र तह) को व्यवस्थामा माओवादी लडाकुको हकमा एक तह लचकता अपनाउन सकिने प्रस्ताव गरेको हो । विशेष समिति सदस्यहरूसँगै परामर्शमा यस्तो प्रस्ताव गरिएको सचिवालयका एक सदस्यले बताए ।
कांग्रेस-एमालेलगायतका दलले माओवादी लडाकुको शिक्षा, उमेर, वैवाहिक स्थितिलगायत विषयमा केही लचकता अपनाउन सकिने जनाउँदै आएका छन् ।
'प्रवेशका बेला एसएलसी पासलाई अधिकृत बन्न दिने गरी लचक हुने सहमति छ । तर प्रवेश पछि लडाकुले सम्बन्धित पदका लागि आवश्यक शिक्षा पूरा गर्नुपर्छ । सम्बन्धित संगठन (सेना) ले नै त्यसको व्यवस्था गर्नेछ,' एक कांग्रेस नेताले भने ।
सेनामा अधिकृतस्तरको सेकेन्ड लेफ्टिनेन्टमा प्रवेश गर्न आईए पास हुनुपर्ने व्यवस्था छ । सहायकरथीसम्म बन्न औपचारिक शिक्षा आईए पासमात्र भए पुग्छ । तर सेनाभित्रका कमान्डो तालिम, कमान्ड तथा स्टाफ तालिम, गण, गुल्मजस्ता इकाईको नेतृत्व गर्न गणपति, गुल्मपति तालिम चाहिन्छ । त्यसैगरी सहायकरथी बन्न स्टाफ कलेजलगायत आन्तरिक तालिम अनिवार्य छ ।
'एसएलसी पासलाई अधिकृतमा समायोजन गर्न सकिने सहमति भएको छ । यस आर्थिक वर्षमात्रै करिब दुई हजार लडाकुले एसएलसी पास गरेका छन्,' एक माओवादी नेताले भने, 'सात हजारभन्दा बढी लडाकुले एसएलसीभन्दा माथिको शैक्षिक योग्यता पूरा गरिसकेका छन् । तत्कालका लागि सहायकरथी बन्ने योग्यताका लडाकु सात हजारभन्दा बढी छन् । बाँकी तालिम त सेनाभित्र गएपछि लिए भइहाल्यो ।'
दोहोरो सुरक्षा प्रणाली एक साताभित्र हट्ने
काठमाडौं- प्रधानमन्त्री तथा विशेष समिति अध्यक्ष झलनाथ खनालले अबको एक साताभित्र लडाकुको समायोजन, पुनःस्थापना र स्वैच्छिक अवकाशबारे प्याकेज निर्माण गरी ठोस कार्ययोजना ल्याइने बताएका छन् ।
समितिको नयाँ बानेश्वरस्थित कार्यालयमा बिहीबार बसेको बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै प्रधानमन्त्री खनालले भने, 'समिति बैठकले समायोजन र पुनःस्थापना मोडालिटी तथा प्याकेज तयार गरी एक साताभित्र ठोस कार्ययोजना ल्याउने निर्णय गरेको छ । अब शान्ति प्रक्रियाका बाँकी काम फटाफट अघि बढ्छ ।'
बैठकले दोहोरो सुरक्षा प्रणाली अन्त्य गर्ने पुरानो निर्णयको पूर्ण कार्यान्वयनका लागि माओवादी नेताका सुरक्षामा रहेका बाँकी लडाकु र हतियार पनि छिट्टै फिर्ता गर्ने निर्णयसमेत गरेको छ । सभामुख सुवास नेम्वाङको संयोजकत्वको पाँचबुँदे सहमति कार्यान्वयन अनुगमन विशेष समितिले एक साताभित्र बाँकी लडाकु र हतियार फिर्ता गर्न लडाकु समायोजन समिति र प्रधानमन्त्रीलाई निर्देशन दिएको थियो ।
'सभामुख नेतृत्वको विशेष समितिको निर्देशन कार्यान्वयन गर्ने निर्णय पनि भयो,' लडाकु समायोजन विशेष समितिका प्रवक्ता मुख्य सचिव माधव घिमिरेले भने । माओवादी नेताको सुरक्षामा रहेका करिब ३५ लडाकु र ३२ हतियार अहिलेसम्म पनि शिविर पुगिसकेको छैन । बैठकमा सचिवालय संयोजक बालानन्द शर्माले शिविर अनुगमनसम्बन्धी कामकारबाहीबारे जानकारी गराएका थिए । source: ekantipur