रवि रोषी / दोहा चितवन युवा समूह दोहा कतारको पाँचौ प्रस्तुती “चितवन धमाका साँझ २०११” कार्यक्रमको कलाकारहरुको चयनकार्य भईसकेको चियुसले जानकारी दिएको छ । यहि आउँदो इदको पहिलो र दोश्रो दिन दोहा जू को ड्रिमपार्कमा प्रदर्शन गर्न लागिएको सो कार्यक्रममा सवै कलाकारहरुको नयाँ प्रस्तुती रहने भएको छ । नेपालबाट आउन निश्चित भईसकेका कलाकारहरुमा चर्चित लोकगायक मिलन लामा तथा लोक गायिका शिला आले रहेकी छिन् भने आधुनिक तर्फ आधुनिक गीत तथा गजल गायक शिव परियारको साथमा नेपाली साकिरा भनेर परिचित ख्यातीप्राप्त पप तथा आधुनिक गायिका इन्दिरा जोशी पनि आउने भएकी छिन् । त्यस्तै गरी नेपालका चर्चित हास्य कलाकार मनोज गजुरेलको पनि विभिन्न नयाँ हास्य सामाग्री प्रस्तुती रहने सो कार्यक्रममा नवनायिका शशी खड्को दमदार नृत्य रहने छ । हालैको चर्चित मोडल तथा नृत्यांगना पूर्णिमा श्रेष्ठको पनि दमदार नृत्य रहने सो कार्यक्रममा कृष्ण फिल्म डान्स सेन्टरका डान्स डाइरेक्टर शिव वि.क.को विभिन्न हास्य नृत्यहरु पनि समावेश रहने छ । उद्घोषिका मञ्जु पौडेलको उद्घोषणको साथमा साँझ ५ बजेबाट सुरु हुने सो कार्यक्रमको टिकट दर १००, ५०, ३५ र २० रहेको छ । सनैया, उमसईद तथा अलखोर बाट आउने दर्शकहरुको संख्याको आधारमा आउन जान बस सेवा पनि उपलव्ध गराईने कार्यक्रम संयोजक गणेश ढकालले बताएका छन् ।