आश गुरुङ, लमजुङ, साउन १९ गते । गोरखाको उत्तरी क्षेत्र सिर्दीवास गाविसमा एक महिनायता फैलिएको झाडापखला र भाइरल ज्वरोका कारण ४ जनाको मृत्यु भएको छ । सयौँ सर्वसधारण विरामी परेकाछन् । सिर्दिवास गाविसमा गत असार १५ गते देखी फैलिएको रोगका कारण सिर्दिवास ७, पादीगाउँका ४२ बर्षीय दिपीन गुरुङको अस्ति मंगलवार मृत्यू भएको हो । ४६ बर्षीय सुन्दरी गुरुङको गएको शुक्रबार र १७ बर्षीय अनिश गुरुङको असार २४ गते मृत्यू भएको हो । यस्तै वडा नं १, भालुवन गाउँका ८ बर्षीया डिना गुरुङको असार २७ गते रोगकै कारण मृत्यू भएको स्थानीय बुद्ध मावि विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष धनबहादुर गुरुङले टेलिफोनमार्फत जानकारी दिएकाछन् । उनका अनुसार विरामी मध्ये झण्डै २० जनाको अवस्था चिन्ताजनक छ । विरामीहरुमा झाडा पखाला, उच्च ज्वरो, टाउको दुख्ने, मुखमा घाउ आउने र अन्तमा शरिर सुक्ने लक्षण देखिने र मृत्यु हुने गरेको गाउँलेहरुले वताएकाछन् । रोगका कारण सिर्दीवास गाविसको १, ३, ४, ७ र ९ नम्बर वडाका स्थानीयवासिन्दा प्रभावित भएका छन । सिर्दीवासमा रहेको उपस्वास्थ्य चौकीमा हिजो मात्र ९० जनाले स्वास्थ्य जाँच गराएकाछन् । उपस्वास्थ्य चौकीमा एक महिना यता अहेव नभएका कारण उपचारमा समस्या भएको स्थानीयवासिन्दाको गुनासो छ । सदरमुकामदेखि ३० कोष टाढा रहेको प्रभावित क्षेत्रमा हिजोमात्रै चुम्चेत र आरुघाट वाट छुट्टाछुट्टै स्वास्थ्य कर्मीको टोली पठाईसकेको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । यसैबीच, झाडापखला र भाइरल ज्वरो प्रभावित क्षेत्रमा अहिले स्वास्थ्यकर्मी पुगेका छन् । जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख डाक्टर गुणराज लोहनी औषधी सहित केहीबेर अघि हेलिकोप्टर मार्फत रोग प्रभावित क्षेत्रमा पुगेको स्थानीय गुनबहादुर कार्कीले जानकारी दिएकाछन् । यसअघि हिजै आरुघाट उपस्वास्थ्य चौकीबाट अहेब विजय श्रेष्ठको नेतृत्वमा गएको ३ जना स्वास्थ्यकर्मीको टोली पनि आज प्रभावित क्षेत्रमा पुग्दैछ ।