पर्वत, भदौ ५- पर्वतको देउपुर गाविस-९ स्थित डिमुवामा सोमबार बिहान अविरल वर्षासँगै आएको पहिरोले स्थानीय किनबहादुर परियार, प्रेमबहादुर क्षेत्री र लोकबहादुर क्षेत्रीको घरगोठ पुरेको छ। पहिरोले पोखरा-बाग्लुङ राजमार्गसमेत अवरुद्ध बनाएको छ। सोही क्षेत्रमा उत्पादन केन्द्र रहेको १४ दशमलब आठ उत्पादन क्षमताको मोदीखोला जलविद्युत् केन्द्रबाट प्रसारित ३३ केभिए विद्युत् लाइनमा समेत क्षति पुगेको छ। पहिरोले मानवीय क्षति भने हुन पाएको छैन। सुरुमा एकदुईवटा ढुङ्गा खस्दै गर्दा सुरक्षित स्थानतर्फ जान सकेकाले मानवीय क्षति हुन नपाएको स्थानीय डिमुवा प्रहरी चौकीका प्रमुख डोरबहादुर खड्काले जानकारी दिएका छन्। तीन घरका गोठहरू समेत पहिराले बगाएको छ। केही वस्तुभाउलाई पहिरोबाट जोगाउन सकिए पनि बाख्रा, कुखुरालगायत पाल्तु जनावरहरू भने पहिरोमा नै पुरिएको खड्काले जानकारी दिए। बिहान ५ बजेको समयबाट गएको पहिरो अहिले पनि निरन्तर बगिरहेको छ। वर्षा रोकिएको छैन। बाग्लुङ, म्याग्दी र पर्वतबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधनहरू बीचैमा अलपत्र परेका छन् भने पोखरालगायत अन्यत्रबाट धौलागिरि प्रवेश गरेका सवारीसाधनहरू पनि सोही स्थानमा अलपत्र छन्। पहिरोका कारण पुरिएको राजमार्ग पन्छाउन डोजर मगाइएको छ। उद्धारका लागि सशस्त्र प्रहरी बल चण्डिका गणका ४६ जनाको टोली घटनास्थलतर्फ पठाइएको गणपति मदनसिंह विष्टले जानकारी दिए । साभारः नागरिक न्यज बाट