Responsive Ad Slot

latest

कांग्रेसले बहुमतीयमा पौडेललाई उठाउने संकेत

Wednesday, August 24

/ by Admin BHOLA THAPA
कुलचन्द्र न्यौपाने काठमाडौ, भाद्र ७ - सहमतीय सरकार बन्ने सम्भावना कम भएपछि कांग्रेसले बहुमतीय प्रक्रियाका लागि उम्मेदवार परिवर्तन गर्ने संकेत गरेको छ । कांग्रेस महामन्त्री प्रकाशमान सिंहले दिइएको अवधि सकिने बेलासम्म पनि सहमति हुन नसके पार्टीले संस्थागत रूपमा अर्को निर्णय लिने बताए । '५ बजेसम्मको समय हेरौं, भएन भने पार्टीले नयाँ निर्णय लिन्छ,' सिंहले भने । सहमतीय सरकारका निम्ति राष्ट्रपति रामवरण यादवले दिएको समय बुधबार अपराह्न ५ बजे सकिँदैछ ।कांग्रेसबाट प्रधानमन्त्री उम्मेदवार शेरबहादुर देउवाले भने 'सहमतीय सरकारबेगर संविधान निर्माण र शान्ति प्रक्रियामा कुनै निकास नआउने' भन्दै त्यसमा सबै पक्षलाई लाग्न आग्रह गरेका छन् । 'विगतका तीनवटा सरकारसमेत हामीले हेरिसक्यौं, तिनबाट निकास आउन सकेन,' देउवाले मंगलबार भने, 'सहमतीय सरकारको विकल्प छैन । भोलि ५ बजेसम्म सहमति खोज्न म सबै नेताहरूलाई आग्रह गर्छु ।' कांग्रेस सभापति सुशील कोइरालाले पनि सहमतीय सरकारकै लागि जोड दिएका छन् । मंगलबार आफ्नो निवासमा एमाले नेता माधवकुमार नेपालसँगको भेटमा पनि कोइरालाले माओवादीले शान्ति प्रक्रियाको ठोस समयबद्ध कार्यतालिका लिखित रूपमा ल्याए माओवादी नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन सकिने बताएका थिए । कोइराला अझै पनि शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउने सर्तमा माओवादी नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने सोचाइमा छन् । माओवादी नेतृत्वका लागि शिविरमा रहेका लडाकु समायोजन, पुनःस्थापना, मापदण्ड, तह मिलान र पुनःस्थापनासम्बन्धी प्याकेजमा सहमति गरी समयबद्ध कार्यतालिका बनाउनुपर्ने कोइरालाको सर्त थियो । त्यसो भए शान्ति प्रक्रिया टुंग्याएर संविधान जारी गर्दासम्म माओवादी र निर्वाचन गराउने अवधिका लागि कांग्रेसले सहमतीय सरकारको नेतृत्व गर्ने कोइरालाको प्रस्ताव थियो । त्यसबारे पटक-पटक माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग अनौपचारिक रूपमा छलफलसमेत भएको थियो । स्रोतअनुसार माओवादीबाट दाहाल पनि त्यही गृहकार्यअनुसार अघि बढ्ने सोचाइमा थिए । तर कांग्रेसभित्र उम्मेदवार को भन्ने आन्तरिक झगडा मिलाउन बीचमा सहमतीयका लागि देउवालाई उम्मेदवार बनाउनुपर्ने बाध्यता भएपछि कोइराला आफैं अप्ठ्यारोमा फसे । दाहालले पनि पछिल्लो समयमा समायोजनाको खाका लिखित रूपमा ल्याउन नमानेको कोइराला निकट एक केन्द्रीय सदस्यले बताए । 'माओवादी आफ्नो नेतृत्व पाउने निश्चित भए शान्ति प्रक्रियामा लचिलो भएर समयबद्ध कार्यतालिका ल्याउने मनस्थितिमा थियो,' कोइराला निकट एक केन्द्रीय सदस्यले भने, 'शान्ति प्रक्रियामा सहमति हुनासाथ देउवालाई हटाउनु पर्दथ्यो, त्यसो गर्दा प्रधानमन्त्री बनाउन नखोजेको सन्देश जाने भएकाले उहाँ अप्ठ्यारोमा हुनुहुन्थ्यो, तर पनि प्रचण्डलाई लिखित रूपमा खाका ल्याउनु माओवादी नेतृत्वमा सरकार बनाउन सहयोग गर्छु भन्नुभएको थियो तर प्रचण्ड मानेनन् ।' देउवाले बुधबारसम्म आफ्नो नेतृत्वमा सहमति जुटाउने अन्तिम प्रयत्न गर्ने बताएका छन् । 



साभार ः इकान्तिपुर
Don't Miss
© all rights reserved
made with by netKUTI