मुम्बई (एजेन्सी), भाद्र ५ - कुनै जमानामा चलेर पनि एकाएक ओझेल परेकी बलिउड अभिनेत्री प्रीति जिन्टा पुनः छाउन थालेकी छन् । अभिनय हुँदै फिल्म निर्माणमा समेत हात हालेकी प्रीतिले यतिखेर 'इस्क इन पेरिस' मा नायिका र निर्मात्री दुवैको भूमिका निर्वाह गरेपछि उत्साहित छिन् । 'हो, म फर्केकी छु । गर्न धेरै बाँकी छ,' १३ वर्षअघि 'दिल से' बाट फिल्मी करिअर सुरु गरेकी ३६ वर्षीया नायिकाले भनिन्, 'लामो समय यो क्षेत्रबाट टाढा हुनुपर्यो जसले गर्दा फिल्म क्षेत्रका मेरा साथीहरूलाई समय दिन सकिनँ ।' तर अब भने उनी आफ्ना समकक्षीसँग नजिकिने मात्र छैनन्, सेलिबि्रटीका अन्तरकुन्तर पनि खोतल्ने भएकी छन्, त्यो पनि एक टेलिभिजन कार्यक्रमबाट । वर्षको सुरुवातमै एक टेलिभिजन कार्यक्रमको सफल सञ्चालन गरेर हौसिएकी 'डिम्पल गर्ल' प्रीतिले अर्को महिनाबाट एक टीभी च्याट शो चलाउने भएकी हुन् । दुई वर्षअघि करिना कपुर र सैफ अली खान अभिनीत 'मै और मिसेज खन्ना' मा आईटम डान्समा देखिएपछि एकाएक ठूलो पर्दाबाट हराएकी प्रीतिको त्यसपछि करिनासँग शीतयुद्ध चलेको मानिन्थ्यो । उक्त शंकालाई पुष्टि गर्ने गरी हालै उनले 'आफ्ना सहकर्मी पुरुषहरूसँग जस्तो राम्रो सम्बन्ध नायिकाहरूसँग हुन नसक्ने' बताएकी छन् । इकान्तिपुर