काठमाडौ, श्रावण ३२ - भावी सरकारको नेतृत्वका लागि माओवादी र कांग्रेसले दावी गरेको छ । नेतृत्वको दौडबाट एमालेले आफूलाई अलग राखेको छ । सहमतीय सरकारका लागि माओवादीले बाबुराम भट्टराई र कांग्रेसले शेरबहादुर देउवाको नाम अगाडि ल्याएको छ । माओवादीले उपाध्यक्ष भट्टराईको नेतृत्वमा सहमतीय सरकार बन्न नसके बहुमतीय प्रधानमन्त्रीको उम्मेदवार पनि उनैलाई बनाउने निर्णय गरेको छ । साथै राष्ट्रपतिले दिएको समयसीमाभित्र दलहरूसँग छलफल गरी पार्टीले सहमतिको पहल गर्ने भएको छ । सहमतिको सरकार बन्न नसके अर्को उम्मेदवार बनाउँदा जटिल हुने भन्दै बहुमतीयको उम्मेदवार पनि भट्टराईलाई नै बनाउने निर्णय माओवादीले लिएको हो । पार्टी सचिव सीपी गजुरेलले भट्टराईको नेतृत्वमा सहमतीय सरकार बनाउने अधिकतम प्रयास गर्ने र त्यसो नभए उनलाई नै बहुमतीय सरकारको उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए ।
'बाबुरामजीको नेतृत्वमा सहमतिको सरकार बनाउन सक्रियतापूर्वक पहल गर्ने निर्णय भएको छ,' पदाधिकारी बैठकपछि उनले भने, 'यदि सहमतिको सरकार हुन सकेन भने बहुमतीय सरकारको उम्मेदवार पनि उहाँ नै हुनुहुनेछ ।' उनले सहमतिको सरकार बनाउने पहल मंगलबारदेखि नै तीव्र पारिने बताए ।
पछिल्लो केन्द्रीय समिति बैठकले सहमतीय सरकारको उम्मेदवार भट्टराईलाई बनाउने निर्णय गरे पनि बहुमतीयको अर्को उम्मेदवार बनाउँदा जटिल हुने भन्दै भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । स्रोतअनुसार उपाध्यक्ष मोहन वैद्यले बहुमतीय प्रधानमन्त्रीको उम्मेदवार पनि भट्टराई हुनुपर्ने प्रस्ताव गरेका थिए । यसअघि भट्टराईले आफू बहुमतीय सरकारको उम्मेदवार नहुने बताएका थिए ।
अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय पदाधिकारी बैठकअघि मंगलबार बिहान प्रमुख दैनिकका संवाददाताहरूसँग कुरा गर्दै भट्टराईकै नेतृत्वमा सहमतीय सरकार बन्ने उल्लेख गर्दै आधारसमेत प्रस्तुत गरे । 'हाम्रो केन्द्रीय समितिले बाबुरामजीकै नेतृत्वमा सहमतिको सरकार बनाउनुपर्छ भन्ने निर्णय एकमतले गरेको छ । जहाँसम्म मैले मद्दत गर्दिन कि भन्ने आशंका छ, त्यो विल्कुल गलत छ ।'
मैले अढाई वर्षअघि प्रधानमन्त्रीबाट राजीनामा दिँदा पनि सरकारको नेतृत्व लिनुपर्छ, आफू तयार हुनुहोस् भनेकै हुँ । त्यो सबैलाई थाहा छ,' दाहालले भने, 'शान्ति र संविधानलाई निष्कर्षमा पुर्याउनुपर्छ भन्नेमा पनि बाबुरामजी र मेरो धारणा निकट छ । मैले नै तपाईं जानुपर्छ भनेको अवस्थामा बाबुरामजीको नेतृत्वमा सहमतिको सरकार बनाउन चाहँदैन भन्नु पूरै गलत हो । हामीभित्र कुनै मतभेद छैन । पार्टीभित्र छलफल बहस गरेका सबै एक ठाउँमा आएकाले बाबुरामजीको नेतृत्वमा सरकार बन्छ ।'उनले कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालसँग लडाकु समायोजनबारे करिब सहमति भइसकेको दाबी गरे । 'कांग्रेस सभापति सुशील कोइला र एमालेका अध्यक्ष झलनाथ खनालसँग संख्यामा आठ हजारको वरिपरि गर्ने, मोडालिटी महानिर्देशनालय र पुनःस्थापनमा गोल्डेन ह्यान्डसेकको रकममा सहमतिको नजिक छौं,' उनले भने, 'जनमुक्ति सेनाको पद मिलानको कुरामा पनि हामी सहमति नजिक छांै । केही कमान्डरहरू राजनीतिमा आउन सक्नुहुन्छ । पद मिलानमा ठूलो समस्या हुँदैन । समायोजन मापदण्ड (नम्स) को कुरामा सबैले शारीरिक मापदण्ड पूरा गर्ने र उमेर विवाह, शिक्षाजस्ता कुरामा समायोजन मापदण्ड बनाउने सहमति भइसक्या छ ।' शान्ति प्रक्रियामा करिब सहमति भइसकेको उल्लेख गर्दै दाहालले माओवादीको नेतृत्व कांग्रेसले स्वीकार्ने बताए । 'मैले बुझेसम्म माओवादीको नेतृत्व अस्वीकार गर्ने भन्ने लाग्दैन । शान्ति प्रक्रिया के होला भन्ने उहाँहरूका आफ्नै खालका चिन्ता छन् । त्यति मात्रै हो,' उनले भने, 'माओवादीको नेतृत्वमा सहमतिको सरकार पहिलो हुन्छ । त्यसपछि कांग्रेसलगायत अन्य पार्टीले चक्रीय प्रणालीतिर जाँदा सहमति नहुने देखेको छैन ।' उनले संविधान निर्माणका विषयमा पनि दलहरू सहमति नजिक पुगेको तर्क प्रस्तुत गरे । 'शासकीय स्वरूप र निर्वाचन प्रणालीमा हामी सहमति नजिक छौं,' उनले भने, 'राज्य पुनसर्ंरचनाको विषय जटिल भए पनि गम्भीर ढंगले छलफल गर्दै जाँदा एउटा बिन्दुमा संघीयतालाई कायम राखेर जान सक्छौं । प्रदेशको विवादलाई एक ठाउँमा ल्याउन सम्भव छ ।' उनले तीन वर्ष कुर्सीको दौड भएकाले अब त्यस्तो नहुने जनाए । उनले राष्ट्रपतिले दिएको समयसीमाभित्र सहमतिको सरकार बन्ने विश्वास व्यक्त गरे । उनले भने, 'अहिले सहमति भएन भने यो शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियाको सहमति नजिक पुगेको स्थानबाट दुर्घटनामा जाने खतरा हुन्छ । त्यसकारण पनि सहमतिको सरकार बन्छ ।' माओवादी शान्ति प्रक्रियामा आएदेखि निरन्तर लागेको नेताका हैसियतले उनले फेरि पनि आफूले शान्ति र संविधानका लागि त्याग गर्ने जनाए । '१२ बुँदे समझदारी बनाउन नेतृत्वको हैसियतले या विस्तृत शान्ति सम्झौता गर्दा गिरिजाप्रसाद कोइरालासँग हस्ताक्षर गर्ने जीवित व्यक्तिको हैसियत या पार्टी अध्यक्ष भएको नाताले मैले शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउनैपर्छ,' उनले भने । साभारः इकान्तिपुर (गंगा विसि)