काठमाडौ, श्रावण ३१ - पति पत्नीबीचको सम्बन्धका आरोह-अवरोहबारे बनेको 'श्रीमान् श्रीमती' आउँदो शुक्रबारदेखि लाग्ने भएको छ । ऋषि लामिछाने निर्देशित फिल्ममा श्रीकृष्ण श्रेष्ठ र सरिता लामिछाने पति-पत्नीको भूमिकामा देखिएका छन् । पतिका लागि ज्यान दिन तयार पत्नी गाउँमा हुँदाहुँदै सहरिया युवतीसँग सल्किने पतिबीचको कथालाई देखाउन खोजिएको निर्देशक लामिछानेले बताए । सहरिया युवतीको भूमिकामा श्वेता खड्का छिन् । त्यसबाहेक मुकेश ढकाल, सुनील थापा, निर्मल शर्मा, जितु नेपालले समेत खेलेका छन् । शिवम् अधिकारीको लेखन रहेको फिल्मको छायांकन दीपक बान्तवाले गरेका हुन् । द्वन्द्वनिर्देशन रोशन श्रेष्ठले गरेका हुन् भने नचाउने जिम्मा गोविन्द राई र पुर्नम राईले लिएका हुन् ।