Responsive Ad Slot

latest

हत्यापछि पूरै गाउँ शोकमा

Thursday, August 4

/ by Admin BHOLA THAPA
पर्वत, श्रावण १९ - मदिरा सेवन गरी हँसियाले हानेर श्रीमती र काकीको हत्या गरेपछि पूरै गाउँ शोकमा डुबेको छ ।
लिमिठाना ९ का भक्तबहादुर भण्डारीले मदिरा सेवन गरी मंगलबार साँझ श्रीमती मीना र काकी हरिकलाको हत्या गरेका हुन् । गाउँमा बुधबार दिनभर रुवाबासी चलेको थियो । हत्यासँगै गाउँले त्रसित छन् । हतियार प्रहारबाट आमा धनसरी, मृतक हरिकलाकी बुहारी पवित्रा र ससुरा भीमबहादुर क्षेत्री घाइते छन् । धनसरीको मुख र कानमा चोट लागेको छ भने पवित्राका दुबै हातका औंला काटिएका छन् । त्यस्तै ससुरा भीमबहादुरको टाउकोमा चोट लागेको छ ।
सांँझ ६ बजे काकी हरिकलाको घरमा गफ गरेर बसिरहेकी श्रीमतीसहित, ससुरा, आमा र पवित्रालाई भण्डारीले अन्धाधुन्ध प्रहार गरेका थिए । घाइते भीमबहादुरले भक्तबहादुरले पहिला हरिकला र पछि श्रीमतीको हत्या गरेको बताए । हत्यापछि भागेका भण्डारीलाई प्रहरीले छिमेकी कुर्घा गाविसबाट मंगलबार राति नै पक्रेको थियो । घाइते सबैले भागेर ज्यान बचाएका थिए । हरिकला र अभियुक्त भण्डारीको घरसँगै भएकाले गफ गरेर बसिरहेको समयमा हँसिया प्रहार गरी हत्या गरेको स्थानीय दीर्घ सापकोटाले बताए । 'भण्डारीले पहिला पनि सानातिना घटना गराएकै हुन्थे,' सापकोटाले भने, 'अहिले सोच्दै नसोचेको यति ठूलो घटना गराए ।' उनले भण्डारी सन्काहा र घमण्डी प्रवृत्तिको भएको बताए ।
एउटै घरमा यति ठूलो घटना भएकाले रातभरि नसुतेको तुला चापागाइर्ंले बताइन् । 'मुला काटेझैं मान्छेलाई काटेपछि कसरी निदाउन सकिन्छ,' उनले भनिन्, 'त्यही भएर रात रोएरै कटायौं ।' उनले घटनापछि पूरै गाउँले पिरोलिएको बताए । घाइते तीन जनालई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि डोकोमा बोकाएर थप उपचारका लागि आफन्तले जिल्ला अस्पताल ल्याएका हुन् । बिरामीको अवस्था सामान्य रहेको स्वाथ्यकर्मीले बताए ।
जिल्ला अस्पतालमा बिरामी हेर्नेको बुधबार दिनभर भीड लागेको थियो । सयौं बजारबासी बिरामी हेर्न अस्पतालमा झुम्मिएका थिए । हत्यामा संलग्न भण्डारीलाई कडा कारबाही गर्न गाउँले र आफन्तले प्रहरीसमक्ष आग्रह गरेका छन् । प्रहरीले पहिला अभियुक्तको मेडिकल जाँच गरेर अनुसन्धान सुरु गर्ने जनाएको छ । 'पहिला बिरामीको स्वास्थ्य जाँच गर्छौं,' प्रहरी नायव उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले

भने, 'त्यसपछि अनुसन्धान गरी कर्तव्य ज्यानमा मुद्दा चलाउँछौं ।' साभारः इकान्तिपुर

Don't Miss
© all rights reserved
made with by netKUTI