काठमाडौं, श्रावण ९ - बहुचर्चित सुडान घोटालाका एक मूख्य आरोपी पूर्व प्रहरी महानिरीक्षक ओमविक्रम राणासँग विशेष अदालतले १५ करोड धरौटी माग गरेको छ ।
धरौटी बुझाउन नसकेपछि सोमबार साँझ नै उनलाई न्यायिक हिरासतमा रखिएको छ ।
विशेषका अध्यक्ष न्यायाधीश गौरीबहादुर कार्की तथा सदस्य न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले राणासँग १५ करोड धरौटी मागेको हो ।
राणालाई धरौटी तोकिएपछि घोटाला भएको रकम पनि उठेको छ । सुडान घोटालामा २९ करोड घोटाला भएको थियो । अहिलेसम्म फैसला भएका आरोपीसँग मागिएको धरौटीबाट घोटाला रकम उठेको हो ।
यसअघि पूर्व आईजीपीद्वय रमेशचन्द ठकुरीसँग ७ करोड र हेमबहादुर गुरुङसँग ५ करोड धरौटी मागिएको थियो । तीन पूर्व आईजीपीबाटै २७ करोड धरौटी उठेको छ । म्याद तामेली भएको २९ औं दिन आइतबार नै विशेष अदालत पुगे पनि राणाविरुद्ध थुनछेकको बहस गर्ने समय सकिएपछि न्याधिक हिरासतमा राखिएको थियो । फौजदारी मुद्दामा बयान भइसकेपछि थुनछेकको आदेश नहुञ्जेल हिरासतमै बस्नुपर्ने प्रावधान छ ।अख्तियारका सचिव भगवती काफ्लेले सहमति विपरीत मुद्दा लगाएको भन्दै राणाले म्याद तामेलीको पत्र बुझ्न नमानेपछि जिल्ला अदालतको टोलीले असार १२ गते कुसुन्तीस्थित राणा निवासमा पत्र टाँसेको थियो ।
अख्तियारले उनीलगायत तीन पूर्वआईजीपीसहित ३४ प्रहरी अधिकारी, एक बेलायती ठेकेदार तथा उनका नेपालस्थित विचौलियाविरुद्ध गत जेठ २४ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
मुद्दामा आरोपीमध्ये झण्डै एक दर्जन प्रहरी अधिकारीसँग विशेष अदालतले धरौटी रकम लिएर छाड्दै आएको छ ।
सुडान घोटाला प्रकरणमा अख्तियारले तीन पूर्वप्रहरी प्रमुखसहित ३६ जनाविरुद्ध जेठ तेस्रो साता विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनीहरू सबै मिलेर २८ करोड ८१ लाख ६१ हजार रुपैयाँबराबरको भ्रष्टाचार गरेको आयोगको अभियोग छ ।अनुपातका हिसाबले यो हालसम्मकै सबभन्दा ठूलो भ्रष्टाचार अभियोग हो । अभियोग लागेकामध्ये इन्स्पेक्टरदेखि पूर्वप्रमुखसम्मका ३४ प्रहरी अधिकारी छन् ।बेलायती ठेकेदार माइकल रिडर र उनका नेपाली एजेन्ट शम्भु भारतीविरुद्ध पनि अभियोग लगाइएको छ । माइकल लन्डनस्थित एस्योर्ड रिस्क कम्पनीका निर्देशक हुन् भने शम्भु उनका नेपालस्थित एजेन्ट ।सुडानस्थित राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका प्रहरीका लागि आवश्यक सामग्री र यातायात साधन खरिद तथा ढुवानीको ठेक्का उक्त कम्पनीले लिएको थियो ।
साभारः इकान्तिपुर