Responsive Ad Slot

latest

स्वदेशमा नाम विदेशमा दाम

Thursday, July 28

/ by Admin BHOLA THAPA
काठमाडौं, साउन १२- लोक गायक बद्री पँगेनी सांगीतिक कार्यक्रम लिएर खाडी मुलुक जाँदैछन्। गीत गाउन २२ देशको चक्कर लगाइसकेका उनी विदेशमा हुने एउटा कार्यक्रमको न्युनतम एक लाख लिने गर्छन्।

सुरुसुरुमा सित्तैमा पनि विदेश गएका उनले बहराइनमा दुई कार्यक्रम गरेबापत पहिलोपटक १७ हजार रुपैयाँ पाएका थिए। विदेशमा सधैं कमाइ हुन्छ भन्ने निश्चित छैन। करिब दुई वर्षअघि उनलाई मलेसियामा धोका मिलेको थियो। पारिश्रमिक नदिई आयोजक बेपत्ता भएको घटना उनी बिर्सदैनन्।
राम्रो आम्दानीले गर्दा नै उनी विदेशी कार्यक्रममा सहभागी हुन्छन्। युरोपभन्दा खाडीका दर्शकले आफ्नो प्रस्तुति मन पराएको अनुभव उनको छ।
लोक गायिका निशा सुनार पनि विदेश धेरै घुम्ने कलाकारमा पर्छिन्। उनले विदेश डुल्न थालेको आठ वर्ष भइसकेको छ। झन्डै २५ देशमा कार्यक्रम गरिसकेकी उनी एक शोको एक लाख लिने गर्छिन्।
'मैले ३० हजार रुपैयाँबाट सुरू गरेकी हुँ,' उनले सुनाइन्। विदेशमा आयोजक भाग्ने प्रवृत्ति बढ्न थालेपछि उनले पहिले नै पैसा लिन थालेकी छिन्। बरु, एउटै देशमा धेरै कार्यक्रम गर्दा सहुलियतमा उपलब्ध भइदिन्छिन्। बद्रीसँग मलेसियामा उनी पनि ठगिएकी थिइन्।
हास्य कलाकार दीपकराज गिरीले १३ वर्षको अवधिमा ३५ भन्दा बढी देशमा प्रहसन देखाइसकेका छन्। उनको सुरुवातको पारिश्रमिक २० हजार थियो। अचेल एक लाख पुगेको छ। तर, उनी विदेशमा पैसा कमाउन होइन शुभचिन्तक भेट्न जाने गरेको बताउँछन्।
'अहिले नेपालमै विभिन्न महोत्सवबाट धेरै फाइदा भएको छ,' उनले अनुभव सुनाए। महोत्सव बाहेक पनि उनले अन्य कार्यक्रममा ३० हजारसम्म नेपालमै लिने गरेका छन्। विदेश जाँदा पुराना दर्शकसँग भेट्दा र घुम्न पाउँदा उनलाई रमाइलो लाग्छ।
उनी पनि विदेश जानुअघि नै पैसा लिन्छन्। उनकै सहकर्मी दीपाश्री निरौला पनि विदेशमा धेरै घुम्छिन्। ११ वर्षअघि कार्यक्रमकै लागि हङकङ गएकी उनले २५ हजार रुपैयाँ लिएकी थिइन्। अहिले उनको पारिश्रमिक दुई लाखसम्म पुगिसकेको छ।
'देश छाडेर गएका नेपालीलाई मनोरञ्जन गराउन प्रायः कार्यक्रममा भाग लिने गरेकी छु,' उनले भनिन्। उनी कार्यक्रमकै लागि चाँडै दुबई जाँदैछिन्। स्वदेशकै मेलामहोत्सवको फाइदा उठाउनेमा उनी पनि पर्छिन्। कलाकार जितु नेपाल कार्यक्रम देखाउन मलेसिया र कोरिया जाँदैछन्। उनी पनि एक लाखको हाराहारीमा पैसा लिन्छन्। तर कहिलेकाहीँ उनले सित्तैमा पनि कार्यक्रम गरिदिएका छन्। उनले मलेसियामा दुई पटक नै आयोजकबाट धोका पाइसकेका छन्।
गायक दीपक लिम्बु चाहिँ विदेशमा कार्यक्रमअनुसार पैसा लिने गर्छन्। आउँदो दसैंंमा उनी हङकङ र इजरायल जाने टुंगो लागिसकेको छ। 'अहिले कन्सर्ट हेरेर डेढ लाखसम्म लिएको छु ,' उनले भने। ६ वर्षमा झन्डै ३० वटा विदेशी कार्यक्रममा सहभागी भएका उनले आजसम्म कुनै किसिमको धोका पाएका छैनन्।
'कार्यक्रम गर्न जाँदा कामको चाप धेरै हुन्छ। कुनै किसिमको ठगीको शिकार चाहिँ भएको छैन,' उनले भने। तैपनि उनी अग्रिम पैसा लिन्छन्। गायिका इन्दिरा जोशी चार वर्षदेखि विदेशको कार्यक्रममा सहभागी हुन थालेकी छिन्। पहिलोपटक स्पेन जाँदा प्रत्येक कार्यक्रमको ६० हजार लिएकी उनले अहिले ८० हजार रुपैयाँ लिने गरेकी छिन्।
'देशअनुसार पैसा बढी पनि हुन सक्छ। कहिलेकाहीँ प्याकेजमा गर्नु पर्दा कम पनि पाउनसक्छु,' उनले भनिन्। हाल उनी कतार जाने तयारीमा छिन्।
'एल्बम बिक्रीभन्दा कन्सर्टबाटै कमाउनु पर्ने हुँदा अब पारिश्रमिक बढाउने सुरमा छु,' उनले मनको कुरा खोलिन्। अर्का गायक धीरज राईले अहिले प्रायः प्याकेजमै कार्यक्रम गर्ने हुँदा डेढ महिनामा १५ लाखसम्म लिएको बताए। उनी एउटा कार्यक्रमका लागि डेढ लाख माग्छन्। यो वर्ष महोत्सवबाट उनले राम्रै आम्दानी गरेका छन्। 'एउटै महोत्सवबाट कम्तीमा पनि ३५ हजार लिएको छु। त्यसैले यसपटक स्वदेशमै कमाइयो,' उनले भने।
अभिनेत्री नन्दिता केसी कार्यक्रमकै निम्ति डान्स सिक्दैछिन्। प्याकेजमै कार्यक्रमको सम्झौता हुने भएकोले उनी अलि थोरै पारिश्रमिकमा पनि विदेश जाने गर्छिन्। पहिलोपटक कतारमा सहभागी भएकी उनले प्रति कार्यक्रम ३५ हजार लिएकी थिइन्। अहिले उनी कम्तीमा ५० हजार लिने गर्छिन्। 'यो पैसा युरोपको निम्ति फरक हुन्छ। कहिलेकाहीँ सित्तैमा पनि काम गर्नुपर्ने हुनसक्छ,' उनले भनिन्। साभारः नागरिक (स्मृति ढुंगाना)
Don't Miss
© all rights reserved
made with by netKUTI