
दाहालले पार्टीभित्रका विवादित राजनीतिक विषय महाधिवेशनमा लैजाने, भट्टराईलाई संसदीय विभागको इन्चार्ज, वैद्यलाई संगठन विभाग प्रमुख र महासचिव रामबहादुर थापालाई सैन्य इन्चार्ज बनाउने प्रस्ताव राखेका छन् । वैद्य-भट्टराई पक्षले फरक मतलाई महाधिवेशनसम्म लैजान सहमत भए पनि कार्यविभाजनलाई एक नम्बर प्राथमिकतामा राखेका छन् ।
'कार्ययोजनामा नेताहरू एक ठाउँमा भए नयाँ ढंगले कार्यविभाजन गर्न सकिन्छ भन्ने हाम्रो प्रस्ताव हो,' पुनले भने, 'यतिबेला शान्ति र संविधान निर्माण प्रक्रियालाई अघि बढाउनु प्रमुख काम हो ।' उनले दाहालको प्रस्तावमा भट्टराई र थापा नकारात्मक नभएको दाबी गरे । प्रवक्ता दीनानाथ शर्माले अध्यक्ष दाहालले तीनै पक्षले जित्ने गरी प्रस्ताव अघि सारेको बताए । 'सबैले जित्ने अवस्था बनाएर भदौ १४ गतेसम्म जानुपर्छ भन्ने
प्रस्ताव अध्यक्षले राख्नुभएको छ,' उनले भने, 'शान्ति र संविधानको कार्यदिशामा सहमति गरे भदौ १४ पछि दलको नेता परिवर्तन गर्न सकिन्छ भन्नुभएको छ ।'उनले दाहाल सहमत नभई दलको नेता फेर्न नहुने बताए ।
'अध्यक्ष सहमत नभई दलको नेता फेर्नु राम्रो हुँदैन,' विगतमा भट्टराई पक्ष भए पनि हाल तटस्थ रहेका शर्माले भने, 'सबैलाई मान्य हुने बाटो खोज्नु राम्रो हुन्छ ।' दाहालले स्वैच्छिक रूपमा दलको नेता छाड्नु उपयुक्त हुने सुझाव दिँदै उनले सबैले सहमति खोज्नुपर्ने बताए । 'अध्यक्ष आफंैले दलको नेता बाबुरामजीलाई बनाउनु राम्रो हुन्छ,' उनले भने । उनले लामो समयदेखि भट्टराईले उचित जिम्मेवारी नपाएको उल्लेख गर्दै सरकारको नेतृत्व गर्ने गरी संसद्को जिम्मा दिनुपर्ने जनाए ।
बहुमत पुर्याउने कसरत जारी
काठमाडौं (कास)- विगतमा उपाध्यक्ष बाबुराम भट्टराईलाई समर्थन गर्दै आएका प्रवक्ता दीनानाथ शर्माले उनको पक्षमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । अध्यक्ष पुष्पकमल दाहालविरुद्ध बहुमत पुर्याउन भट्टराईले गरेको आग्रहलाई शर्माले अस्वीकार गरेका हुन् । 'हस्ताक्षर अभियानमा मेरो असहमति छ,' शर्माले भने, 'यो हस्ताक्षर अभियान माक्र्सवाद संगत छैन ।' भट्टराई पक्षले शर्मा दाहाल शिविरमा गएको जनाएको छ । भट्टराईसहित केही नेता शर्माको निवासमै गएर हस्ताक्षर गर्न आग्रह गरे पनि उनले अस्वीकार गरेको स्रोतले जनायो । वैद्य-भट्टराई पक्ष दाहालविरुद्ध हस्ताक्षर अभियानमा लागेका छन् । मंगलबार ललितपुरको भेलामा ६१ केन्द्रीय सदस्यले हस्ताक्षर गरेका थिए । केन्द्रीय समितिमा बहुमत पुग्न ७४ जना आवश्यक पर्छ । वैद्य-भट्टराई पक्षले बहुमत पुगेको दाबी गरेका छन् भने दाहाल पक्षले बहुमत पुर्याउने अभियान तुहिएको बताएको छ । 'बहुमत पुर्याउने प्रयास असफल भएको छ,' स्थायी समिति सदस्य वर्षमान पुनले भने, 'अब परिस्थिति सन्तुलनमा आएको छ ।' यस अभियानमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अमिक शेरचन समूह तटस्थ बसेका छन् । साभारः इकान्तिपुर