धन बस्नेत- पोखरा, २८ असार/पश्चिमाञ्चल क्षेत्रका तनहुँ, अर्घाखाची, गुल्मी, मनाङ, मुस्ताङ र पर्वत जिल्ला खेलकुद प्रशिक्षक विहीन छन् । ती जिल्लामा कार्यालय प्रमुखले जिल्ला खेलकुद विकास समितिको काम कर्तव्य गर्दै आएका छन् । कार्यालय प्रमुख समेत करारमा रहेका छन् । जिल्लामा खेलकुद गतिविधिको लागि आवश्यक बजेट समेत उपलब्ध हुने गरेको छैन् । ‘सात जिल्लामा खेल प्रशिक्षक नै छैनन् ।’ क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष दिपक कोइरालाले भन्नुभयो-’प्रशिक्षक नभएको जिल्लामा दरबन्दी माग गर्ने तयारीमा छौं ।’ प्रशिक्षकहरु सुविधायुक्त ठाँउमा सरुवा र काज लिने परम्पराले पनि मोफसलका जिल्लामा खेलकुदले प्राथमिकता पाउन सकेको छैन् ।
सरकारीस्तरबाट समेत खेलकुद गतिविधि पनि शहर केन्द्रीत गरिदिदाँ अन्य ठाँउमा खेलकुदले प्रोत्साहन नपाएको क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । क्षेत्रीय खेलकुद विकास समितिका अनुसार म्याग्दी, गोर्खा, लम्जुङ, स्याङजा र पाल्पा जिल्लामा भने कार्यालय प्रमुखसहित बढीमा तीनजना प्रशिक्षक छन् । कपिलबस्तु, नवलपरासी, बाग्लुङमा आधा दर्जन प्रशिक्षकहरुको दरबन्दी छ । कास्कीमा १८ र रुपन्देहीमा १४ जना प्रशिक्षक छन् । कास्की र रुपन्देही बाहेक अन्यत्र खासै खेलकुदको गतिविधि समेत हुन सकेको छैन् । खेलकुदको विकास गाउँ गाउँसम्म पुर्याउने योजना सरकारले बनाएपनि विकेन्द्रीकरणको नीति कार्यान्वयन नहुदाँ खेलकुद गतिविधि मोफसलका जिल्लामा पुग्न सकेको छैन् । प्रशिक्षककै अभावमा जिल्लामा खेलकुद गतिविधि सधैं ओझेलमा पर्दै आएको छ । केही जिल्लामा प्रशिक्षक नहुदाँ खेलाडीले आफनो खेल कौशल प्रदर्शन गर्न नसक्ने अवस्था रहिरहदाँ केही जिल्लामा भने दुइ जना प्रशिक्षक कार्यरत छन् । जिल्ला खेलकुद विकास समितिले चार जना प्रशिक्षकको दरबन्दी माग गरेको छ । बास्केटबल, व्याडमिन्टन र लनटेनिसको प्रशिक्षकको दरबन्दी माग गरिएको जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष सुमन देवकोटाले जानकारी दिनुभयो । पोखरामा बास्केटबल, व्याडमिन्टन तथा लनटेनिस प्रतियोगिता वर्षोनी हुदैं आएको छ तर प्रशिक्षक विहीन हुदाँ खेलाडीले आफनो कौशलतामा कसी लगाउन पाएका छैनन् ।