Responsive Ad Slot

latest

कुरा मात्रै ठूला

Tuesday, July 26

/ by Admin BHOLA THAPA
काठमाडौ, श्रावण १० - आमा र बहिनीलाई लागूऔषध खुवाएर हत्या गरेको अभियोग लागेको मोस्ट वान्टेड सूर्य वास्तविक हत्यारा मन्त्रीदेखि प्रहरी अधिकृतसम्मकै हत्या गर्न लुकीछिपीमा छ । उता बाबुका हत्यारासँग बदला लिन चाहन्छे उषा । पकेट मारेर जीवन चलाउने रक्षा अनि हीरा चोर्ने सुरज । यी सबैलाई तह लगाउने डीएसपी अर्जुन (निखिल) । पढ्दा लाग्न सक्छ, शुक्रबार प्रदर्शनमा आएको 'द मोस्ट वान्टेड' भयंकर नै छ । तर पढ्दा र देख्दामा धेरै तलमाथि हुन सक्छ । दिनेश पौडेलको पहिलो निर्देशन एक्सनपूर्ण बनाउन पात्रले बोल्ने संवादमा कुनै कम्प्रोमाइज गरिएको छैन । तिनको बोलीले स्थापित गर्न खोजेको सेटिङलाई भिजुअलले भने सघाउँदैन । कैदका लागि लैजाँदै गर्दा प्रहरी घेराबाटै फरार सूर्यले आफ्नै आँखाअघि आमा र बहिनीको हत्या गर्ने अपराधीलाई सिध्याउन चालेका कदममा दम छैन । सुरक्षा सावधानीलाई फिल्मले पूर्णतः लत्याइदिएको छ । मोस्ट वान्टेड भनिएका पात्र दिउँसै व्यस्त सडकमा घुम्नु र समस्यामा पर्ने जोकोहीलाई सहयोगी भाव देखाउँदै निर्धक्क हिँड्नु अर्को आश्चर्य । पौडेलकै लेखन 'द मोस्ट वान्टेड' को शीर्षक अनुसार नै केन्द्रीय पात्रमा वान्टेड खेपेका सूर्य (राजेश) छ, जसले लघुशंकाको निहुँमा प्रहरीको आँखा सजिलै छल्न सक्छ । भाग्ने क्रममा उसको भेट उषा (तेजुला) सँग हुन्छ । एक्सनपूर्ण बनाउन खोजिएको फिल्ममा पात्रका बीच प्रेमलाई पनि अटाउने प्रयास त गरिएको छ, तर योजनाबिनै । तिनलाई मायालु पाउन समस्यै पर्दैन, बस, एकपटक आँखा जुध्नुपर्‍यो । स्त्रिmप्टका हिसाबले यो फिल्म कमजोर छ । मर्न र मार्नमै फिल्म सकिन्छ । फितलो कथालाई लामा नीरस फाइट सिनले छपक्कै छोपेका छन् । फिल्मका घटनाले नयाँपनको सञ्चार गर्दैनन् । पुरानै फर्मुलाको जोडजाडमा फिल्मले अलमलिएको छ । निखिल शैलीका हावामा हुने फाइटलाई मसलाका रूपमा भरपुर प्रयोग गरिएको छ ।'द मोस्ट वान्टेड' को सांगीतिक पक्ष भने केही सबल छ । पृष्ठभूमि र गीत दुवैमा हरि लम्सालले संगीत भरेका हुन् । पृष्ठभूमिको संगीतमा हरिले सनातन चर्को संगीत दिनुबाहेक पृथक् काम गरेका त छैनन्, तर गीत-संगीतमा राम्रै काम देखाएका छन् । कविराज गहतराजको कोरियोग्राफीमा वेशभूषाको विविधता राम्रो छ । लोकेसन छनोटका हिसाबले पनि नाचगानको पाटो फिल्मको अन्य पक्षको तुलनामा राम्रो छ । एक्सन फिल्म भए पनि द्वन्द्व निर्देशकले एक्सनलाई रिच बनाउन सकेका छैनन् । खतरनाक गुन्डा त भनिन्छ तर यति कमजोर लाग्छन् कि उनीहरूकै अड्डामा गएर एक व्यक्तिले मुड्कीका भरमा काम तमाम गरिदिन्छ । हिरोलाई शक्तिशाशी देखाउन विरोधीलाई पनि उत्तिकै सक्षम देखाउन सकेको भए एक्सनको मजा दर्शकले पनि पाउन सक्थे । निर्देशकले कलाकारबाट राम्रो काम लिन पनि सकेका छैनन् । प्रायः नयाँ कलाकार खेलाउँदाको चुनौतीलाई उनले आत्मसात नगर्दा कुनै पनि कलाकार जम्न सकेका छैनन् । पात्रले बोल्ने संवाद अत्यन्तै 'फिल्मी' शैलीका छन्, जसले वास्तविकता चित्रण गर्न सघाउ पुर्‍याउँदैन । source : ekantipur
Don't Miss
© all rights reserved
made with by netKUTI