दिनेश रेग्मी दोहा (कतार), अषाढ २२ - कतारस्थित समुद्रमा २ वर्षअघि पानी जहाज दुर्घटना परी मृत्यु भएका ८ नेपाली कामदारका परिवारलाई क्षतिपूर्ति दिन यहाँको पुनरावेदन अदालतले आदेश दिएको छ । दुर्घटनामा परेका अरू ४ कामदारको क्षतिपूर्तिको सुनुवाइ भने तीन महिनापछि हुने भएको छ ।
पुनरावेदन अदालतबाट मुद्दा जित्नेमा बगडा-६ महोत्तरीका शेषनाथ यादव, डिभर्ना-३ अर्घाखाँचीका मानसिंह खत्री, जौलीपोखरी-८ रोल्पाका जयबहादुर पुन मगर, कटकुइया-१ बनियाँगाउँ, बाँकेका मृतक अब्बास अहमद सई, फेटा-८ बाराका मेहदी हुसेन मियाँ, हब्सेकोट-३ नवलपरासीका घनश्याम सार्की, छिस्ती-१ बागलुङका लीलाराम पौडेल र हापुर-२ दाङका शंकर विष्टका परिवार छन्
।
कामदारहरू गुम्दी-५ धादिङका गंगाबहादुर गुरुङ, सुगाभवानीपट्टी-५ महोत्तरीका राजीवकुमार दत्त, गैराकोट-१ पाल्पाका तिलकबहादुर खम्चा र कुर्घा-३ पर्वतका ऋषिप्रसाद शर्मा पौडेलको मुद्दाको सुनुवाइ अक्टोबर (असोज-कात्तिक) मा हुने यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।
'विभिन्न मितिमा पुनरावेदनबाट ८ जनाको मुद्दा जितेका छौं । बाँकीको सुनुवाइ अक्टोबरमा हुने जानकारी आएको छ,' कतारका लागि नेपाली राजदूत सूर्यनाथ मिश्रले भने, 'अब कामदार कार्यरत रहेको कम्पनी एबिकेले सर्वोच्चमा मुद्दा दायर नगरे चाँडै क्षतिपूर्ति पाउने छौं ।' सर्वोच्चमा मुद्दा दायर गर्न कम्पनीले ६० दिनको म्याद पाउँछ । उसले प्रतिकामदार २५ हजार रियाल -५ लाख रुपैयाँ) धरौटी राख्नुपर्ने कतारी कानुनमा प्रावधान छ ।
राजदूत मिश्रले सिभिल कोर्टबाट सबै कामदार र पुनरावेदन अदालतबाट ८ कामदारको मुद्दा जितिसकेको हुँदा एउटै प्रकृतिको मुद्दा भएकाले बाँकी ४ ले समेत पुनरावेदनबाट जित्ने विश्वास व्यक्त गरे । दूतावासले प्राइमरी कोर्टबाट २०६७ माघ १२(२६ जनवरी २०११ ) मा मुद्दा जितेर क्ष्ातिपूर्तिका लागि 'क्यारिङ आउट कोर्ट' -अदालतको फैसला कार्यान्वयन गर्ने अदालत) मा रकम दाबी गरेको बेला एचबिके कम्पनी पुनरावेदन अदालत पुगेको थियो । 'हरेक कामदारको २५ हजार रियाल धरौटी राख्नुपर्ने र दुई वटा अदालतबाट हारिसकेकाले कम्पनी सर्वोच्च जाने सम्भावना कम छ,' मिश्रले भने ।
कतारी कानुनअनुसार कामको सिलसिलामा मृत्यु भएका प्रत्येक कामदारको परिवारले ब्लड मनीस्वरूप २ लाख रियाल (४० लाख रुपैयाँ) क्षतिपूर्ति पाउने व्यवस्था छ । दूतावासका तर्फबाट कतारी महिला कानुन व्यवसायी मोना अब्दुल रहेमान हुसेन एयरले मुद्दा लड्दै आएकी छन् । २०६६ असार १६ (२००९ जुन ३०) कामको सिलसिलामा पानी जहाज दुर्घटनामा परेर १२ नेपाली, १६ भारतीय, एक बंगालादेशी र एक इन्डोनेसियालीसहित ३० जनाको भएको थियो । कतारको समुद्रमा भएको ग्यास प्लान्टको सफाइ गरेर र्फकंदै गर्दा जहाज पल्टिँदा उनीहरूको मृत्यु भएको थियो ।
युएईको दुबईस्थित एउटा कम्पनीको भाडामा लिएको उक्त पानी जहाजमा चालक दलका ९ सदस्यसहित ३५ जना कामदार सवार थिए । जसमध्ये नेपालीसहित २४ जना एचबिके कम्पनीका र २ जना एचबिकेकै लागि क्याटरिङ कम्पनीबाट ल्याइएका कामदार थिए । एचबिके पावर क्लिनिङ कम्पनी र कतारकै बिमा कम्पनीबीच कसले क्षतिपूर्ति दिने भन्ने विवाद थियो । एचबिकेले कामदारको बिमा गरेकाले क्षतिपूर्ति रकम बिमा कम्पनीले तिर्नुपर्ने दाबी गरेको छ ।
'हाम्रा कामदार एचबिके कम्पनीमा कार्यरत रहेकाले हामी एचबिकेविरुद्ध मुद्दा लड्दै आएका छौं,' राजदूत मिश्रले भने, 'उसले जसबाट क्षतिपूर्ति लिए पनि हाम्रा कामदारको तिर्नुपर्छ ।' बिमा कम्पनीले पानी भाडामा चलाएको एचबिकेले पुरानो जहाज प्रयोग गरेको र चालक (क्याप्टेन) को लापरबाहीले दुर्घटना भएकाले क्षतिपूर्ति एचबिकेले तिनुपर्ने अडान लिएको छ । साः इकान्तिपुर डट कम