१९ असार, काठमाडौँ । साउदी अरबको रियाद शहरस्थित एक कम्पनीमा आगलागी हुँदा त्यहाँ कार्यरत १२ नेपालीको बिचल्ली भएको छ ।त्यहाँस्थित स्थानीय अल्मोनिक कम्पनीमा विद्युतसर्ट भई आगलागी हुँदा दाङ बिजौरीका गुरुप्रसाद केसी र चितवनका बुद्धिराम महतो जलेर घाइते भएको बताइएको छ । भारतीय नागरिक सहित ७६ जनाले काम गर्दै आएको कम्पनीमा आगलागी भएपछि १२ जना नेपाली बाहेक अन्यको अवस्था अज्ञात रहेको साउदीमा काम गर्दै आएका रोल्पाका प्रशान्त पुनले जानकारी दिनुभयो ।आफूहरु कम्पनीको खुल्ला चौरमा सुतिरहे पनि साउदी सरकार र नेपाली राजदुतावासले उद्धारका लागि कुनै पहल नगरेको पुनले गुनासो गर्नुभयो । कम्पनीले दिएको तलब कोठामै रहेकाले सबै जलेर नष्ट भएको उहाँले बताउनुभयो ।शनिबार दिउँसोदेखि लागिरहेको आगो निभाउन साउदी सरकारले ६ वटा दमकल प्रयोग गरेपनि आगो अझै नियन्त्रण बाहिर रहेको प्राप्त समाचारमा जनाइएको छ । साः नेपाल कतार अनलाइन