बीरेन्द्र पौडेल मुम्बई, अषाढ ३० - भारतको आर्थिक राजधानी मुम्बईमा बुधबार साँझ भएको सिरीयल बम ब्लास्टबाट हालसम्म नेपाली सुरक्षित रहेका छन् । तीन वटै बिष्फोटमा परेर कुनै पनि नेपाली हताहत र घाईते भएका छ्रैनन् । बिष्फोट भएका स्थान मध्ये बढि नेपालीहरु काम गर्ने चर्निरोड स्टेशन नजिक ओपेरा हाउसमा पनि हालसम्म नेपाली घाईते नभएको खवर नरहेको अपेरा हाउसमा काम गर्ने अमर ओडले जनाएका छन् ।नेपाली श्रमिक मजदुर युनियनका सदस्य समेत रहेका ओडका अनुसार साघुरो रोडमा बिष्फोट भएकोले पुटपाथमा ब्यापार गर्ने चनावाला, पापडवाला, बडापाववाला र अन्य दोकानदार तथा नास्ता गर्ने र ओहर दोहोर गर्ने व्यक्तिहरु सो बिष्फोटमा
बढि घाईते भएका छन् । यसैगरी झबेरी बजारमा भएको बिष्फोटमा पनि हालसम्म कुनै पनि नेपालीको नाम नसुनिएको संयुक्त नेपाली महासंघ मुम्बईका अध्यक्ष कमलेश बोहोराले बताएका छन् । उनले आफू विभिन्न अस्पतालमा पुगेर घाइते र मृतकहरुको नाम हेरेको तर त्यसमा नेपाली नभेटिएकोले नेपाली सुरक्षित रहेको जनाएका छन् । यसैगरी दादर पश्चिमस्थित कबुतर खाना नजिकै रहेको बस स्टपमा भएको बिष्फोटमा पनि नेपाली नपरेको जनाईएको छ । बिष्फोट भएको स्थल नजिकै रहेको एन्थोनी डिसाल्बा हाईस्कुलमा कार्यरतलाई उदृत गर्दै महासंघका महामन्त्री भरत रावलले दिएको जानकारी अनुसार सो क्षेत्रमा पनि नेपालीहरुलाई केही भएको छैन । यता, नेपाली श्रमिक मजदुर युनियनका अध्यक्ष मास्टर थापाले पनि आफू पुलिस प्रशासनको सम्पर्कमा रहेको र घाईतेहरुको नामावलीमा अधिकारी, बोरा र विश्वकर्मा रहेकोले नेपाली भएको आंशका गरिएता पनि उनीहरु नेपाली नरहेको उल्लेख गर्दै अन्य विस्तृत विवरण आउन बाँकी रहेको बताए । उनले घाईतेहरु राखिएका सबै अस्पतालहरुमा बिहीबार पुगेर घटनाको जानकारी लिने जनाएका छन् । थापाले भने, 'अपेरा हाउस र झाबेरी बजारमा नेपालीहरु थुप्रै कार्यरत भएता पनि कुनै नेपालीलाई क्षति नपुग्नु भाग्यको कुरा हो ।' बुधबार भएको ब्लास्टबाट यो समाचार तयार पार्दाको समय बिहीबार दिउँसोसम्म कही कतै पनि नेपालीहरु घाईते भएको खबर प्राप्त भएको छैन । दश मिनेटको अन्तरालमा गरिएका भिषण सिरियल बिष्फोटमा परी हालसम्म २१ जनाको मृत्यु भईसकेको छ भने १३९ जना घाईते भएका छन् । मुम्बईका सबै लोकल स्टेशनहरुबाट हज्जारौको संख्यामा यात्रुहरु घर तर्फ जाने क्रममा स्टेशनहरुको नजिकै गरिएका यि हमलाले ठूलो क्षति पूगेको हो । बम बिष्फोटपछि सोही दिन राति नै गृहमन्त्री पि चिदम्बरन मुम्बई आएर बिष्फोट क्षेत्रको अवलोकन गरेका थिए भने बिहीबार बिहान पत्रकार सम्मेलन गरी महाराष्ट्र सरकारले मृतक परिवारलाई पाँच/पाँच लाख र घाईतेहरुलाई पचास हजार रुपैयाँ दिने घोषणा गरेको छ । बम बिस्फोटको घटनाप्रति अमेरिका र पाकिस्तानले कडा रुपमा निन्दा गरेका छन् । ह्वाईट हाउसका प्रबक्ता जे कार्नीले मुम्बई बिस्फोटको घटनाप्रति राष्ट्रपति बाराक ओबामाले निन्दा गर्नुका साथै दोषीलाई कारबाही गर्ने प्रक्रियामा अमेरिकाको सहयोग रहने बताएको जानकारी दिए । त्यस्तै पाकिस्तानी राष्ट्रपति आसिफ अलि जरदारी र प्रधानमन्त्री यूसुफरजा गिलानीको तर्फबाट जारी बक्तब्यमा बम बिस्फोटको घटनाको निन्दा गर्दै ज्यान गुमाएका नागरिक तथा घाइतेका आफन्त र भारतीय राजनीतिक नेतृत्वप्रति सहानुभूति ब्यक्त गरिएको छ । मुम्बईमा ५ वर्ष अघि पनि यसैगरी पश्चिम रेलवे कै ट्रेनहरुमा सात ठाउँमा सिरीयल बिष्फो६न गराइको थियो । source:ekantipur