धादिङ, १९ अषाढ / राजधानी काठमाडौंलाई जोड्ने मुख्य मार्गको रुपमा रहेको पृथ्वीराजमार्गका अधिकांश स्थानमा पहिरो झर्न थालेका छन् । बर्षा सुरु भएसंगै राजमार्गका माथिबाट पहिरो खस्ने क्रम बढ्न थालेपछि यतिबेला दैनिक यात्रा कष्टकर बन्ने गरेको छ । खासगरी पृथ्वीराजमार्ग अन्तर्गत धादिङको जोगिमारा स्थित मौवाखोलादेखि नौविसे सम्मका सडक खण्डका विभिन्न स्थानमा साना ठूला पहिरोले राजमार्गमा समस्या बढाएको छ ।पृथ्वीराजमार्गलाई आधार बनाएर खनिएका ग्रामीण सडकका कारण बर्षा सुरु भएसंगै पहिरोको समस्या बढ्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङका प्रमुख एवं प्रहरी निरीक्षक सुरेसकुमार शाहले बताए । पृथ्वीराजमार्गका विभिन्न स्थानबाट खनिएका कच्चि ग्रामीण सडकबाट पानी परेसंगै ठुलो मात्रामा पानी र हिलो माटो बगेर राजमार्गमा थुप्रीने गरेपछि सवारी आवागमनमा समस्या आएको शाहले जनाए ।अहिले जिल्लाको जोगिमारा स्थित जवाङ खोला, गजुरी स्थित चालिसे नजिकैको सडक र बैरेनी बजार नजिकै क्षेत्रमा धेरै समस्या आउने गरेका छन् । यी लगायत अन्य क्षेत्रमा पनि माथिबाट कच्ची सडकको माटो बगेर पृथ्वीराजमार्गमा थुप्रीने गरेको भएपनि त्यसले सवारी आवागमनमा समस्या नपारेको प्रहरी निरिक्षक शाहले बताए ।
अहिले मौवाखोलादेखि नौविसे सम्मको राजमार्ग क्षेत्रमा साना ठुला गरी झण्डै सयको संख्यामा पहिरो खसेको छ ।पहिरोका कारण यातायात सेवा प्रभावित नहोस भनेर डिभिजन सडक कार्यालय भरतपुरले फिस्लीङदेखि नौविसे सम्मको क्षेत्रको लागी २ वटा डोजर परिचालन गराएको छ भने ट्राफिक समस्या समाधानका लागि इलाका प्रहरी कार्यालय गजुरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले पनि केही संख्यामा प्रहरी तयारी अवस्थामा राखेका छन ।साभार न्युज पाेखरा